प्रिगोजिन : लुटेरादेखि अर्बपति व्यापारीसम्म

भाद्र १६, २०८० |अमृत दाहाल
प्रिगोजिन : लुटेरादेखि अर्बपति व्यापारीसम्म

सन् २०१४ को गृष्मकालीन समय, जतिखेर पूर्वी युक्रेनमा रुसी आक्रमण चर्किरहेको थियो, ठीक त्यही समयमा मोस्क्भा नदीको किनारामा बनेको स्टालिनकालीन भवनको एउटा कोठामा रुसी रक्षा मन्त्रालयका शीर्ष अधिकारीहरू जम्मा भए । उनीहरुको कुराइका बीच टाउको चिल्लो पारेर खौरिएका एक अधबैँसे प्रवेश गरे । उनी थिए– येभ्गेनी प्रिगोजिन, जसलाई रक्षा अधिकारीहरू सेनालाई रासन आपूर्ति गर्ने ठेकेदारका रूपमा चिन्थे ।

तर, यसपटक प्रिगोजिन त्यहाँ फरक उद्देश्यले आएका थिए । उनले सुरुमै प्रस्ताव गरे, ‘स्वयंसेवकका लागि तालिम गर्ने स्थान उपलब्ध गराइयोस् । यी स्वयंसेवकको सेनासँग कुनै औपचारिक सम्बन्ध हुनेछैन र रुसका लागि युद्ध लड्न प्रयोग गर्न सकिनेछ ।

मन्त्रालयका उच्च अधिकारी अधिकांशलाई प्रिगोजिनको त्यो प्रस्ताव मन परेन । तर उनले भने– यो कुनै साधारण आग्रह होइन । यो पापाबाट आएको आदेश हो । उनले पापा भनेर पुटिनलाई सङ्केत गरेका थिए । र, यसो भन्दै गर्दा उनले पुटिन र आफ्नो निकट सम्बन्ध पनि दर्साउन भ्याएका थिए ।

त्यो बैठकमा सहभागी रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बेलायतको ‘गार्जियन’ पत्रिकासँग भनेका थिए–म पनि स्पष्ट थिइनँ, यो कस्तो काम हो भनेर।

तर, त्यही दिन गरिएको निर्णयले रुसको निजी सैन्य समूह वाग्नरको उदय भयो, जसले रुसी विदेश नीति र सैन्य शक्तिमा निकै ठूलो प्रभाव पार्‍यो ।

०००

सन् २०१९ मा कंगोमा एउटा सैनिक जहाज दुर्घटना भयो, त्यसमा प्रिगोजिन मारिएको समाचार विश्वका सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रसारण गरे । वाग्नरको भविष्यलाई लिएर विभिन्न अड्कबाजीहरु हुन थाले । तर विश्वलाई चकित पार्दै प्रिगोजिन तीन दिनपछि सार्वजनिक रूपमा देखा परे ।

यसपटक भने प्रिगोजिनको साँच्चिकै मृत्यु भयो । २०२३ अगस्ट २३ मा मस्कोबाट सेन्ट पिटर्सबर्गतर्फ उडेको जहाज दुर्घटनामा प्रिगोजिनको मृत्यु भएको पुष्टि रुसको अनुसन्धान निकायले गरिसकेको छ । अनुसन्धान वैज्ञानिक रूपले पुष्टि हुनु अगावै राष्ट्रपति भ्लादिमिर पुटिनले प्रिगोजिनका परिवारलाई समवेदना सन्देश पठाएका थिए ।

लुटेरादेखि अर्बपति व्यापारीसम्म

सन् १९६१ मा तत्कालीन लेनिनग्राद (हाल सेन्ट पिटर्सबर्ग) मा जन्मिएका प्रिगोजनको बाल्यकाल सङ्घर्षपूर्ण रह्यो । उनले सानैमा बाबु गुमाए । आमा अस्पतालमा काम गर्थिन् । किशोर उमेरदेखि नै उनी अपराधको दुनियाँमा प्रवेश गरे । १९७९ मा १८ वर्षको उमेरमै चोरीको आरोपमा उनलाई २ वर्ष ६ महिनाको जेल सजाय भयो । जसअन्तर्गत उनलाई भेलिकी नोभगोरोडको केमिकल प्लान्टमा काम गर्ने सजाय दिइयो । १९८० मा उनी लेनिनग्राद फर्किए ।

सन् १९८० को मार्च महिना । प्रिगोजिन तीन साथीसहित मध्यरातमा सेन्ट पिटर्सबर्गको सडकमा हिँडिरहेका थिए । एक महिला अँध्यारो सडकमा एक्लै हिँडिरहेकी भेटिइन् । प्रिगोजिनका एक साथीले सुरुमा ती महिलासँग चुरोट मागे । जब तिनले आफ्नो पर्स खोलिन्, पछाडि रहेका प्रिगोजिनले घाँटी समाते, महिला बेहोस भइन् । प्रिगोजिनले उनको सुनका गहना निकाले । त्यसपछि तीनै युवा महिलालाई सडकमा छाडेर अँध्यारोमा बेपत्ता भए ।

यही अभियोगमा उनलाई १२ वर्षको जेल सजाय भयो ।

सन् १९८८ मा आममाफी पाएपछि उनी १९९० मा रिहा भए । अनि, जीवन निर्वाह गर्न सौतेला बाबु र आमासँग मिलेर लेनिनग्रादको सडकमा हटडग बेच्न थाले। त्यतिबेला महिनाको १ हजार डलरसम्म कमाइ हुन्थ्यो । १९९१ र १९९७ को बीचमा उनले सुपर मार्केट र क्यासिनोमा लगानी गरे । १९९५ मा रेस्टुराँ खोल्ने निर्णय गरे । १९९७ मा उनले सेन्ट पिटर्सबर्गको भासिलिभेस्की टापुमा ‘ओल्ड कस्टम हाउस’ नामक रेष्टुराँ चलाए । उनले एउटा पुरानो डुंगालाई ४ लाख डलर खर्च गरेर तैरने रेष्टुराँको रूप दिए र भ्यात्का नदीमा चलाए ।

उक्त रेष्टुराँ तत्कालै पप स्टार, व्यवसायी तथा राजनीतिज्ञको गन्तव्य हुन थाल्यो । सन् २००१ पछि राष्ट्रपति बनेका पुटिनले विदेशी पाहुनालाई आफ्नो गहृनगरमा भेट्ने गर्थे, र, उनीहरूलाई ओल्ड कस्टम हाउसमै लैजान्थे । त्यहाँ उनले तत्कालीन फ्रेन्च राष्ट्रपति ज्याक सिराक, अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशसहितका राष्ट्र तथा सरकार प्रमुखलाई समेत खाना खुवाए । २००३ मा पुटिनले त्यहीँ नै जन्मोत्सव मनाएका थिए ।

प्रिगोजिनसँग काम गरेका ब्रिटिस होटेल व्यवसायी टोनी गेर सम्झन्छन्– उनी निकै कडा थिए । यतिसम्म कि सफाइ कर्मचारीले राम्ररी काम गरेका छन् कि छैनन् भनेर रेष्टुराँमुनिको धुलो हेर्न हरेक बिहान विशेष खालको प्रोजेक्टर बाल्थे र कहिलेकाहीँ कर्मचारीलाई शारीरिक यातना पनि दिन्थे ।

रेष्टुराँ व्यवसायसँगै उनको सम्पत्ति दिन दुगुना रात चौगुना बढ्दै गयो । २०१८ मा न्युयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्– रुबल यति चाँडै थुप्रिन थाल्यो कि आमाले गन्न पनि भ्याउनु भएन ।

सुरुमा साझेदारीमा रेष्टुराँ चलाएका उनले २००३ पछि एक्लै चलाउन थाले ।

सन् २०१२ मा उनको कम्पनी ‘कन्कर्ड क्याटरिङ’ ले मस्कोभरका स्कुलमा खाना उपलब्ध गराउने १० अर्ब रुबलभन्दा बढीको ठेक्का हात पार्‍यो । २०१५ मा उनले सेनालाई रासन ढुवानी गर्ने ९२ अर्ब रुबल (१ अर्ब पाउन्ड) को ठेक्का पाए । यही कारण उनलाई ‘पुटिनका कसाही (बुचर)’ या ‘पुटिनका भान्से (सेफ)’ भनियो । एक अन्तर्वार्तामा उनले आफूलाई सेफभन्दा बुचर भन्न सुहाउने बताएका थिए ।

सन् २०१२ पछि प्रिगोजिन निजी जेटसहित थुप्रै विमानका मालिकसमेत भए । प्रिगोजिनले इन्टरनेट रिसर्च एजेन्सी–आइआरएमा पनि लगानी गरेका थिए, जसले इन्टरनेट ट्रोल गरेको र सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनलाई समेत प्रभावित पार्ने गरेको आरोप लाग्ने गरेको छ । २०२३ को फेब्रुअरीमा उनले आफूले आइआरएमा लगानी गरेको मात्र नभई आविष्कार नै गरेको खुलासा गरेका थिए ।

वाग्नरको सुरुवात

निजी सैन्य कम्पनीको रूपमा वाग्नर सन् २०१४ मै स्थापना भए पनि यसलाई गोप्य राखियो । अमेरिकी थिंक ट्यांक ‘सेन्टर फर स्ट्राटेजी एन्ड इन्टरनेशनल’ का अनुसार यो समूहलाई निजी भनिए पनि यसको व्यवस्थापन र सञ्चालनमा भने रुसी सेना र गुप्तचर संयन्त्र पूर्ण रूपमा संलग्न थिए ।

यो समूहले सबैभन्दा पहिले २०१४ मा पूर्वी युक्रेनको डनबास द्वन्द्वका बेला विश्वको ध्यान तानेको थियो, जहाँ यसले रुससमर्थित पृथकतावादीलाई समर्थन गरेको थियो । यसले रुसी सेनासँग मिलेर सिरियामा पनि युद्ध लडेको थियो भने माली, मोजाम्बिक तथा सुडानलगायतका अफ्रिकी मुलुक तथा मध्यपूर्वमा संलग्न भयो । ग्लास्गो विश्वविद्यालयका लेक्चरर हुसेन अलियेभका अनुसार वाग्नरले ती मुलुकका प्रभावशाली व्यक्तिका साथै तेल र अन्य खनिजमाथि नियन्त्रण गरेर रुसी विदेश नीतिको प्रवर्द्धनमा सघाउ पुर्‍यायो ।

केही विश्लेषकहरू वाग्नर एक दर्जनभन्दा बढी देशमा सञ्चालनमा रहेको अनुमान गर्छन् । प्रिगोजिन अफ्रिकामा पनि आफ्नो प्रभाव फैलाउन चाहन्थे । गत महिना उनले सेन्ट पिटर्सबर्गको रुस–अफ्रिका सम्मेलनका अवसरमा अफ्रिकी टोलीका नेताहरूलाई पनि भेटेका थिए ।

सन् २०१८ मा मध्य अफ्रिकी गणतन्त्रमा रुसले सैन्य तथा हतियार सहयोग गर्दा वाग्नर संलग्न थियो । त्यहाँ २०२० को चुनावअघि सुरक्षा स्थिति बिग्रँदा वाग्नरले तालिम लगायतमा सहयोग गरेको थियो । २०१९ मा मोजाम्बिकमा इस्लामिक समूहको सङ्घर्षमा पनि यो समूह संलग्न थियो । पछिल्लो समय वाग्नरले सुडानको सरकारी सेनासँग लड्न त्यहाँको र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई मिसाइल सहयोग गरेको थियो ।

सुरुआती दिनमा प्रिगोजिनले वाग्नरमा आफ्नो संलग्नता अस्वीकार गर्दै पश्चिमा पत्रकारमाथि कानुनी कारबाहीमा पनि उत्रिए। तर युक्रेन युद्धका बेला पहिलो पटक वाग्नरलाई आफूले स्थापना गरेको सार्वजनिक रूपमा स्वीकारे ।

रुसले पनि वाग्नरसँगको निकटता अस्वीकार गर्दै रुसमा निजी सैन्य ठेकेदारहरूलाई अनुमति नभएको बताइरह्यो । तर बखमुट कब्जा गर्दा पुटिनले वाग्नरको प्रशंसा गरे ।

प्रिगोजिनको सन्की स्वभाव

युक्रेन युद्ध सुरु भएको अर्को महिना २०२२ को मार्चमा बेलायती रक्षा गुप्तचर निकाय र अमेरिकी अधिकारीहरूले डनबास र पूर्वी युक्रेनमा वाग्नरका १ हजार सेना भएको दाबी गरेका थिए । तर, अगस्टमा वाग्नरमा भर्ना हुन आह्वान गर्दै रुसका सहरमा पोस्टरहरू देखिए । एक महिनापछि प्रिगोजिनले बन्दीहरुलाई भर्ना गर्दै गरेको भिडियो सार्वजनिक भयो । बन्दी लडाकुहरूलाई उनी भन्ने गर्थे–तिमीहरू युद्धमा मर्न सक्छौ। तर, ६ महिनासम्म बाँच्यौ भने रिहा हुनेछौ र आकर्षक तलबसहित माफी पाउने छौ ।

बन्दीहरु सरकारभन्दा प्रिगोजिनलाई पत्याउँथे

ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्का रणनीति सञ्चारका संयोजक जोन किर्विले वाग्नरको सेना ५० हजारसम्मको संख्यामा पुगेको दाबी गरेका छन् । तीमध्ये ४० हजार आपराधिक पृष्ठभूमिका थिए । बेलायती रक्षा मन्त्रालयले पनि जनवरीमा युक्रेनका वाग्नरका ५० हजार लडाकु रहेको बताएको थियो । अमेरिकी तथ्यांकअनुार युक्रेनमा २० हजार रुसी सेना मारिएकामा आधा जति त वाग्नरका लडाकु थिए । युक्रेन राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकका अनुसार वाग्नरले हालैका महिना ३८ हजार बन्दी भर्ना गरेका थिए भने युद्धमा मारिएका, घाइते भएका, हराइरहेका र नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या ३० हजार छ ।

प्रिगोजिन आफूप्रति बफादार नभएकाहरूप्रति क्रूर हुन्थे । उनले नोभेम्बरमा सार्वजनिक भएको एउटा भिडियोमा भनेका छन्–एउटा कुकुरले कुकुरकै मृत्यु भोग्छ ।

पुटिनको निजी सेना

खासगरी, युक्रेन युद्धको सफलताबाट प्रिगोजिनको राजनीतिक महत्वाकांक्षा पनि बढ्दै गयो । यही कारण वाग्नर क्रेमलिनको टाउको दुखाइ बन्दै थियो । बन्दी भर्ती तथा युक्रेनमा आफ्नो उद्देश्य पूर्तिका लागि हतियारको असीमित पहुँच दिनेजस्ता रुसी निर्णयले वाग्नर क्रेमलिनको नियन्त्रणबाट बाहिर जान थाल्यो ।

प्रिगोजिनले सार्वजनिक रूपमै थुप्रै पटक रुसी सैन्य नेतृत्वप्रति कडा शब्दमा असन्तुष्टि पोख्ने गरेका थिए । यसै वर्षको सुरुमा उनले बखमुटमा वाग्नर सेनालाई आवश्यक मात्रामा हतियार उपलब्ध नगराएको आरोप लगाउँदै आफ्ना माग पूरा नभए युक्रेनबाट सेना फिर्ता गर्ने चेतावनी दिएका थिए । उनले क्रेमलिनका उच्च अधिकारी पैसा कमाउन र आफ्नो करिअर अघि बढाउन युक्रेनमा आक्रमण गर्न उद्धत रहेको आरोप पनि लगाएका थिए ।

उनले आफूलाई सेना प्रमुखकै रूपमा हेर्न थालेका थिए । वाग्नरलाई अलग्गै रुसी सैन्य बलको मान्यता दिने प्रयासका लागि गत जुनमा उनी मस्को पनि पुगेका थिए ।

क्रेमलिनसँगको तनाव बढ्दै जाँदा प्रिगोजिनले २३ जूनमा विद्रोह गर्दै युद्धको व्यवस्थापनबाटै बाहिरिन रुसका उच्च सैन्य अधिकारीलाई चुनौती दिए ।

रुसी रक्षा मन्त्रालयले गत जुनको सुरुमा यसलाई आफ्नो स्वयंसेवक इकाइको रूपमा विलय गर्ने प्रयास गरेको थियो र मन्त्रालयसँग सम्झौता गर्न प्रिगोजिनलाई भनेको थियो । तर, प्रिगोजिनले सैन्य नेतृत्वको आलोचना गर्न छाडेनन् । गत जूनको अन्त्यतिर उनले रोस्तोभ–अन–डनस्थित रुसी शिविर कब्जा गर्न आफ्ना सेनालाई आदेश दिए र मस्कोतिर मार्च गर्न लडाकुलाई निर्देशन दिए । यस कार्यलाई पिठ्युँमाथि छुरा घोपेको र देशद्रोह गरेको आरोप लगाइरहँदा पुटिन भने वाग्नरलाई रुसी सेनामा विलय गराउने विचार गरिरहेका थिए । सोहीकारण उनले रुसी बिजनेस दैनिक पत्रिका ‘कोमरसान्ट’ लाई दिएको अन्तर्वार्तामा वाग्नर कमान्डरलाई रुसका लागि निरन्तर लड्न विकल्प दिएका थिए ।

तर, मस्को पुग्नु १२० माइल बाँकी छदै प्रिगोजिनले रक्तपात नचाहेको भन्दै लडाकुलाई पछि हट्न निर्देशन दिए । बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोको मध्यस्थतापछि प्रिगोजिन बेलारुसमा निर्वासनमा जाने सहमति भयो । त्यति बेलै पश्चिमा मुलुकले प्रिगोजिन र वाग्नरकै भविष्यमाथि प्रश्न गरेका थिए । नभन्दै त्यसको ठ्याक्कै २ महिनामा विमान दुर्घटनामा उनको मृत्यु भयो ।

अब के हुन्छ वाग्नरको भविष्य ?

पश्चिमा सुरक्षा विज्ञहरुले प्रिगोजिनविना वाग्नरको अस्तित्व रहन सक्छ कि सक्दैन भनेर शंका गरेका छन्, अब उनका लडाकु र हतियारको स्थिति के हुन्छ ? युद्ध स्थलबाट फर्कन्छन् कि फर्कँदैनन् ?

प्रिगोजिनको मृत्युपछि पुटिनका लागि अबको विकल्प भनेको वाग्नरलाई रुसी सेनामा विलय गर्नु या क्रेमलिनका समर्थकलाई प्रमुख नियुक्त गर्नु हुन सक्छ । ‘मेरो विचारमा प्रिगोजिनविना वाग्नर विघटन हुनेछ, किनभने उनले यसलाई व्यक्तिगत हिसाबले चलाइरहेका थिए,’ निरङ्कुश शासन र हिंसात्मक समूहबारे अनुसन्धान गरिरहेकी इसेक्स विश्वविद्यालयकी प्राध्यापक नताशा लिन्डस्टेट भन्छिन् । उनका अनुसार परम्परागत सेनाजस्तो चेन अफ कमान्डमा चल्ने खालको नभएकाले प्रिगोजिनको मृत्युले यो समूहमा समस्या पर्ने निश्चित छ । किनकि, प्रिगोजिनका दुई निकट फिल्ड कमान्डर दिमित्री उत्किन र व्यवस्थापन हेरिरहेका भ्यालेरी चेकालोभ पनि मारिएकाले नेतृत्वको खाडल फराकिलो छ।

विश्लेषकका अनुसार प्रिगोजिनको मृत्युपछि पुटिनले सम्भवतः वाग्नरलाई सेनाको औपचारिक संरचनाबाहिरै राख्न सक्छन् । यसलाई विदेशकै युद्धमा प्रयोग गर्ने गरी निजी सैन्य कम्पनीकै रूपमा राख्ने सम्भावना छ र उनले क्रेमलिन निकटलाई नेतृत्व दिन सक्छन्, तर वाग्नरको संरचना अहिलेकैजस्तोचाहिँ नरहन सक्छ ।

आलोचकको रहस्यमय मृत्यु

रुसी नेतृत्वको आलोचना गर्ने नेता, पत्रकार तथा सुरक्षा अधिकारीहरू रहस्यमय रूपमा मारिने गरेका घटना विगतमा कैयौँ छन् । अधिकांश घटनामा विषाक्त पदार्थ प्रयोग गरिएका छन् भने केहीलाई गोली प्रहार गरेर मारिएका छन् ।

यस पटक पनि पश्चिमा मुलुकहरूले प्रिगोजिनको हत्या गरिने आशंका गरेका थिए । नभन्दै पुटिनविरुद्ध विद्रोह गरेको २ महिनामै प्रिगोजिनको रहस्यमय विमान दुर्घटनामा मृत्यु भयो । क्रेमलिनले भने हरेक घटनामा आफ्नो संलग्नता अस्वीकार गर्ने गरेको छ । यस पटक पनि रुसले प्रिगोजिनको मृत्युमा विमान दुर्घटना कारण देखायो ।

सन् २०१६ मा रुसबाट भागेका पूर्व रुसी कम्युनिस्ट पार्टीका सदस्य डेनिस भोरोनेन्कोभलाई किभमा गोली हानी मारियो । सन् २०११ मा विपक्षी नेता बोरिस नेम्त्सोभले संसदीय निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउँदै वृहत र्‍याली आयोजना गरे । विपक्षीको प्रदर्शन साम्य पार्न सरकारले उनलाई थुप्रै पटक पक्राउ गर्‍यो । २०१५ को फेब्रुअरीमा युक्रेनमा सेनाको संलग्नताविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको केही घण्टामै उनलाई क्रेमलिननजिकै गोली प्रहार गरियो । उक्त घटनाको अनुसन्धानलाई पुटिनले नियन्त्रणमा लिए र हत्यामा संलग्न को हुन् भनेर कहिल्यै थाहा भएन ।

यस्तै, बेलायत निर्वासनमा बसेर पुटिनको विरोध गर्दै आइरहेका धनाढ्य बोरिस बेरेजोभ्स्की २०१३ मा गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा आफ्नै घरको बाथरुममा फेला परे । उनले पूर्व गुप्तचर अधिकारी अलेक्जान्डर लित्भिनेन्कोको हत्यामा क्रेमलिनको संलग्ना रहेको भन्दै आवाज उठाउने गरेका थिए । मानवअधिकार कानुनका विज्ञसमेत रहेका स्टानिस्लाभ मार्केलोभलाई क्रेमलिननजिकै मास्क लगाएका बन्दुकधारीले २००९ मा हत्या गरे । उनलाई जोगाउन खोजेकी पत्रकार अनास्तासिया बाबुरोभा पनि गोलीको सिकार भइन् ।

यस्तै, २००९ को नोभेम्बरमा वकिल सेर्गेई मागिनित्स्कीको प्रहरी हिरासतमै यातनाका कारण मृत्यु भयो भने सोही वर्ष पत्रकार नाताल्या इस्टिमिरोभा मारिइन् ।

क्रेमलिनका नेताहरूले देशलाई ‘प्रहरी राज’ मा परिणत गरेको आरोप लगाउँदै ‘पुटिन्स रसिया’ नामक पुस्तक लेखेकी पत्रकार अन्ना पोलित्कोभास्काया २००६ मा मारिइन् भने सोही वर्ष पूर्वगुप्तचर अधिकारी अलेक्जान्डर लित्भिनेन्कोलाई विष दिएर हत्या गरियो ।

‘पोलिनियम–२१०’ नामक विषालु पदार्थ मिसाइएको चिया खाएको ३ सातापछि अलेक्जान्डरको लन्डनमा मृत्यु भयो । पछि बेलायती अनुसन्धानले उनको हत्यामा २ जना रुसी एजेन्ट संलग्न भएको र यसका लागि पुटिनले आदेश दिएको खुलासा गरेको थियो । लन्डनमा हत्या भएकाले बेलायतले ती एजेन्टलाई सुपुर्दगी गर्न गरेको आग्रह रुसले अस्वीकार गर्‍यो ।

पुटिनले पछि ती एजेन्टलाई ‘सर्भिस अफ दि मदरल्याण्ड’ पदकले पुरस्कृत गरे । यस्तै, सन् १९९९ को शृङ्खलाबद्ध अपार्टमेन्ट आक्रमणमा सरकारकै संलग्नता रहेको पुष्टि गर्न प्रमाण खोजिरहेका पूर्वकर्णेल सेर्गेई युशेन्कोभ २००३ मा मस्कोस्थित आफ्नै घरबाहिर मारिए । सोही वर्ष उक्त बम आक्रमणबारे अनुसन्धान गरिरहेका पत्रकार युरी शेकोशिखिनको रहस्यमय बिरामीले मृत्यु भयो ।

त्यस्तै हाल जेलमा रहेका विपक्षी दलका नेता अलेक्सी नाभाल्नीलाई पनि विषालु पदार्थमार्फत हत्या गर्ने प्रयास गर्‍यो ।

सम्बन्धित समाचार

के प्रिगोजिनलाई कारबाही गर्ने पुटिनको वाचा पूरा भएको हो ?


Image

अमृत दाहाल

दाहाल कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।