
काठमाडौं । भारत र अमेरिकाबीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबा मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत-अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गर्नुभएको हो । दुई देशबीच बढ्दो रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यले गरिएको यो सम्झौताले भारत-अमेरिका रक्षा सम्बन्धलाई नयाँ युगतर्फ अग्रसर गराउने बताइएको छ ।
सम्झौतापछि अमेरिकी युद्धमन्त्री हेगसेथले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै भारतसँगको सम्बन्ध ‘पहिला कहिल्यै यति बलियो नभएको’ उल्लेख गर्नुभएको छ । उहाँले सम्झौतालाई ‘क्षेत्रीय स्थिरता र प्रतिरोधका लागि आधारशिला’ भन्दै दुवै देशबीचको रक्षा साझेदारीले इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
भारतीय रक्षामन्त्री सिंहले पनि उक्त भेटवार्तालाई ‘फलदायी’ भन्दै १० वर्षे सम्झौता ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्दै सम्झौताले भारत र अमेरिकाबीचको बलियो साझेदारीले नयाँ युगको सुरूआत गर्ने उल्लेख गर्नुभएको छ ।
क्वालालम्पुरमा आयोजित आसियान-भारत रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकको अवसरमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो । आगामी नोभेम्बर १ मा हुने आसियान रक्षा मन्त्रीहरूको बैठकअघि यो अनौपचारिक भेट आयोजना गरिएको थियो ।