
काठमाडौं । उत्तरी मेक्सिकोको एउटा जनरल स्टोरमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ।
सोनोरा राज्यको हरमोजिलो शहरस्थित वाल्डो स्टोरमा शनिबार आगलागी हुँदा उक्त क्षति भएको गभर्नर अल्फोन्सो दुराजोले जानकारी दिनुभएको छ । आगलागीमा ११ जना घाइते भएका छन् । उनीहरूको सहरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा १२ महिला, ५ पुरुष, २ बालक र २ बालिका रहेको र सोनोरा राज्यमा शोकको अवस्था रहेको मेक्सिको रेडक्रसका अध्यक्ष कार्लोस फिनरले बताउनुभएको छ । मेक्सिकोको राष्ट्रपति क्लाउडिया शिनबमले पीडित परिवार र घाइतेको सहयेागका लागि टोली पठाउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
बिस्फोटपछि आगलागी भएको प्रत्यक्षदर्शीले बताए पनि यकिन कारण भने थाहा हुन नसकेको बताइएको छ । घटनाको कारण र दोषीबारे छानबिन गर्न अनुसन्धान सुरू गरिएको गभर्नर दुराजोले बताउनुभएको छ । घटनापछि राज्य सरकारले आइतबारका लागि तय गरिएका सबै सांस्कृतिक कार्यक्रम रद्द गरेको छ । वाल्डो मेक्सिकोको सबैभन्दा ठूलो चेन स्टोर हो ।