विराटनगर किङ्सले अनुबन्ध गरेका फाफ डु-प्लेसीकाे यस्ताे छ पृष्टभूमि

कार्तिक १७, २०८२ |खेल ब्युरो
विराटनगर किङ्सले अनुबन्ध गरेका फाफ डु-प्लेसीकाे यस्ताे छ पृष्टभूमि

काठमाडौं । एनपीएल सुरू हुन अब दुई हप्ता मात्र बाँकी छ । 

फ्रेन्चाइज टोलीहरू आफ्नो टिमलाई पूर्णता दिन विदेशी खेलाडीहरूलाई अनुबन्ध गर्दै छन् । यसैक्रममा, दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु-प्लेसीले विराटनगर किङ्सबाट एनपीएल खेल्ने भएका छन् । हालसम्म हस्ताक्षर गरिएका खेलाडीमध्ये डु-प्लेसी सबैभन्दा ठूला नाम हुन् ।

फाफ डु-प्लेसीलाई क्रिकेटमा शान्त, संयमित र इनिङ्स निर्माणमा दक्ष ब्याट्सम्यानको रूपमा चिनिन्छ । ज्याक कालिसको युगपश्चात् उनी दक्षिण अफ्रिकाका बलियो स्तम्भ बनेका थिए । फ्रन्ट-फुटमा बल खेल्ने क्षमता, अचुक डिफेन्स र क्रीजमा लामो समय टिकेर खेल नियन्त्रण गर्ने दक्षता उनका विशेषता हुन् ।

तर डु-प्लेसीको यात्रा सधैं सरल थिएन । २००७ मा काउन्टी क्लब लङकेशायरसँग सम्झौता गरे पनि उनी तुरून्तै अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्न सकेनन् । हाई-स्कूलका साथी एबी डी भिलियर्सले देखाएको चमकले उनको प्रतिभा केही हदसम्म ओझेलमा परेको थियो । तर काउन्टी क्रिकेटको कठोर अभ्यासले उनलाई अनुभव हासिल गर्न र आफूलाई स्थापित गर्न मद्दत गर्यो ।

लङकेशायरसागको सम्झौता सकिएपछि उनले दक्षिण अफ्रिकी घरेलु क्रिकेटमा धमाकेदार प्रदर्शन गरे । विशेष गरी २०१०-११ सिजनमा उनी घरेलु क्रिकेटका सर्वाधिक रनकर्ता बने । यही प्रदर्शनले उनलाई जनवरी २०११ को भारतविरूद्धको वन डे श्रृफ्लाका लागि टिममा चयन गरायो । जहाँ उनले डेब्यूमा नै अर्धशतकीय इनिङ्स खेले । 

सोही वर्ष भारतमा सम्पन्न विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरे । त्यसबेलादेखि डु-प्लेसी आक्रामक बल-स्ट्राइकर र छिटो रन बनाउन सक्षम ब्याट्सम्यानको रूपमा परिचित भए । डु-प्लेसीले २०१२ मा इंग्ल्यान्डविरूद्धको टेस्ट सिरिजका लागि दक्षिण अफ्रिकी टिममा स्थान बनाए पनि डेब्यूको अवसर भने पाएनन् । तर उनले यसै सिरिजका दौरान टी-२० आई डेब्यू गर्ने अवसर पाए । 

सोही वर्ष अस्ट्रेलियाविरूद्ध टेस्ट क्रिकेटमा पहिलो अवसर पाए, जहाँ उनले दोस्रो टेस्टको पहिलो इनिङ्समा ७८ रन बनाउँदा दोस्रो इनिङ्समा साढे ७ घण्टा पीचमा टिक्दै १ सय १० रनको सानदार शतकीय इनिङ्स खेलेका थिए । उनको प्रदर्शनले दक्षिण अफ्रिकाले असम्भव लाग्ने सो खेल ड्र गरेको थियो । २०१२ डिसेम्बरमा मात्र ४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको भए पनि डु-प्लेसीलाई टी-२० कप्तानी दिइयो ।

२०१५ विश्वकपमा पनि उनी उत्कृष्ट र्फममा थिए । उनी रिचर्ड लेभीपछि टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो दक्षिण अफ्रिकी खेलाडी समेत हुन् । डु-प्लेसीको कप्तानीमा दक्षिण अफ्रिकाले २०१४ र २०१६ को टी-२० विश्वकप खेलेको थियो । २०१८ र २०२१ मा चेन्नई सुपर किङ्सबाट दुई पटक आईपीएल जितेका डु-प्लेसीले राइजिङ पुणे सुपरजायन्ट, रोयल चैलेंजर्स बेंगलुरू र दिल्ली क्यापिटल्सका लागि पनि आईपीएल खेलेका छन् । 

उनले आरसीबीको कप्तानी समेत गरेका छन् । विश्वभरका अधिकांश लिग खेलेका डु-प्लेसीको कप्तानीमा सेन्ट लुसीया किङ्सले २०२४ को क्यारेवियन प्रिमियर लिग जितेको थियो । उनले दक्षिण अफ्रिकाका लागि ५० टी-२० आई खेलमा १ शतक र १० अर्धशतकसहित १५ सय २८ रन बनाएका छन् । टी-२० मा उनले ४ सय २४ खेलमा ११ हजार ९ सय ६ रन बनाएका छन् ।

२०१२ देखि २०१९ बीच दक्षिण अफ्रिकाको टी-२० आई टिमका कप्तानसमेत रहेका डु-प्लेसीले आफ्नो देशको एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट टोलीको कप्तानीसमेत गरेका छन् । ४१ वर्षीय डु-प्लेसीले एकदिवसीय अन्तर्राष्ट्रियमा १२ शतकसहित ५५ सय ७ र टेस्ट क्रिकेटमा १० शतकसहित ४१ सय ६३ रन प्रहार गरेका छन् ।

एनपीएलमा डु-प्लेसीको प्रदर्शन कस्तो हुनेछ भन्ने अनुमान गर्न गाह्रो छ । तर उनको उपस्थितिले विराटनगर किङ्स मात्र नभई अन्य खेलाडीहरूका लागि प्रेरणा र सिक्ने ठूलो अवसर प्रदान गर्नेछ ।