
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले नाइजेरियामा सम्भावित सैन्य कारबाहीका लागि तयार रहन रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिनुभएको छ।
नाइजेरियामा रहेका क्रिश्चियन समुदायविरूद्धको हिंसा रोक्न आवश्यक केही नगरेको आरोप लगाउँदै उहाँले सैन्य कारबाहीका लागि तयार रहन निर्देशन दिनुभएको हो । तर, नाइजेरियाले भने ट्रम्पको आरोप अस्वीकार गर्दै आएको छ । आफ्नो सामाजिक सञ्जालमा ट्रम्पले नाइजेरियामा क्रिश्चियन समुदायमाथि भइरहेको आमहत्याको आलोचना गर्दै यसलाई नरोके तत्काल सबै खालका सहयोग रोक्ने बताउनुभएको छ ।
उहाँले आफूहरूले आक्रमण गरे क्रुर हुने उल्लेख गर्दै क्रिश्चियन समुदायलाई सुरक्षा नदिइए इस्लामिक चरमपन्थीविरूद्ध कारबाही थालिने बताउनुभएको छ । नाइजेरियाले धार्मिक स्वतन्त्रता उल्लंघन गरेको आरोप लगाएको भोलिपल्टै ट्रम्पको यो चेतावनी सार्वजनिक भएको हो ।
तर, नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले भने सामाजिक सञ्जालमार्फत आफ्नो मुलुकले सबै धर्मका समुदायको संरक्षणमा अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गरिरहेको दाबी गनुभएको छ ।