
काठमाडौं । उत्तरी अफगानिस्तानको हिन्दकुश क्षेत्रमा गएको ६ दशमलब ३ म्याग्निट्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण-यूएसजीएसका अनुसार मजार-ए-शरीफ नजिकको खोल्म क्षेत्रमा स्थानीय समयअनुसार सोमबार राति १ बजे भूकम्प गएको हो। तालिबान स्वास्थ्य मन्त्रालयका अनुसार भूकम्पमा परी ३ सय २० जना घाइते भएका छन् ।
घाइतेहरूमा- आत्तिएर भवनबाट हामफाल्नेहरू रहेको बल्ख प्रान्तका प्रवक्ता हाजी साइदले जानकारी दिनुभएको छ । मजार–ए–शरीफको ऐतिहासिक ब्लू मस्जिदमा समेत ठूलो क्षति पुगेको बताइएको छ। भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको थियो ।
भूकम्पका कारण ताजिकिस्तान र उज्वेकिस्तानबाट ल्याइएको विद्युत लाइनसमेत क्षतिग्रस्त भएपछि राजधानी काबुललगायत देशभर विद्युत अवरूद्ध भएको छ । दुई महिनाअघि पूर्वी अफगानिस्तानमा आएको ६ म्याग्निट्युडको भूकम्पमा दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।