
काठमाडौं । आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग आयोजना हुने भएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ-एन्फामा साेमबार संघ र क्लबहरूबीच भएको छलफलमा यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष शहीद स्मारक 'ए' डिभिजन लिग आयोजना गर्ने सहमति भएको हो । यो वर्ष आयोजना हुने राष्ट्रिय लिगमा 'ए' डिभिजन लिगका चर्च बोइज, मच्छिन्द्र, पुलिस, जावलाखेल, सातदोबाटो र एनआरटी क्लब सहभागी बन्ने भएका छन् ।
'ए' डिभिजन लिगका ५ टिम सहभागी बन्दा बाँकी ८ टिमले भने राष्ट्रिय लिग खेल्ने छैनन्। त्यसैगरी एन्फा प्रेसिडेन्ट लिगबाट चार टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने छन् । तर यो वर्ष सहिद स्मारक 'ए' डिभिजन लिग आयोजना नहुने भएको छ। क्लब र एन्फाको छलफलबाट लिग अर्को वर्षको पुस ३ गतेदेखि गर्ने तोकिएको हो ।
होम एन्ड अवेका आधारमा सञ्चालन हुने लिगका लागि यही वर्षको चैतसम्ममा 'ए' डिभिजन क्लबहरूले घरेलु मैदान छनोट सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। त्यसैगरी एन्फाले अगामी जेठमा क्लबलाई पत्राचार गर्नुपर्ने र प्रि-सिजनको पनि व्यवस्था गरिएको छ।
यसैगरी एन्फाले साेमबार हेटौंडामा पत्रकार सम्मेलन गरी एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पुरस्कार पाउने घोषणा गरेको छ। १० टोली सहभागी रहेको प्रतियोगितामा समान ५ क्लबको दुई समूह बनाइएको छ। एन्फा प्रेसिडेन्ट लिग, हेटौंडा उपमहानगरपालिका ६ को गौरिटार रंगशालामा लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछन् । सेमिफाइनलमा पुग्ने सबै टोली राष्ट्रिय लिगमा छनोट हुनेछ।