
काठमाडौं । टर्कीको एक अदालतले बोलु प्रान्तको कार्तल कायास्थित ग्रान्ड कर्ताल होटलमा गत जनवरीमा भएको आगलागीको घटनामा दोषी ठहर गर्दै होटलका मालिकसहित ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ ।
आगलागीमा ३० बालबालिकासहित ७८ जनाको मृत्यु भएको थियो भने १ सय ३७ जना घाइते भएका थिए। अदालतले होटल सञ्चालनका क्रममा सुरक्षा नियमहरूको पालना नगरिएको ठहर गर्दै सञ्चालक तथा केही सदस्यलाई यो फैसला सुनाएको हो ।
सजाय तोकिएकामा बोलु प्रान्तका एक उपमेयर र स्थानीय अग्नि नियन्त्रक पनि छन् । सुनुवाइका लागि हिरासतमा राखिएका २० र अन्य १२ गरी कुल ३२ जनाविरूद्ध मुद्दा परेको थियो ।
अनुसन्धानका क्रममा होटलमा जडान गरिएको आगलागीको चेतावनी दिने संयन्त्रले काम नगरेको र केही ग्याँस उपकरणहरूको सुरक्षा मापदण्डहरू पूरा नगरिएको समेत पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।