डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादका कारण २० हजार श्रमिक बेरोजगार हुने जोखिममा

कार्तिक १७, २०८२ |सुमन पन्थ
डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादका कारण २० हजार श्रमिक बेरोजगार हुने जोखिममा

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा २३ उद्योगमा लाइन काटिँदा २० हजारभन्दा बढी श्रमिक बेरोजगार हुने जोखिममा छन् । 

सोहीकारण सातै प्रदेशका मुख्यमन्त्रीहरूले आइतबार प्रधानमन्त्रीसँगको भेटमा यो समस्यालाई समयमै समाधान गर्न अग्रसरता लिन आग्रह गरे । निजी क्षेत्रले पनि थप लगानी विस्तारका लागि विश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताउँदै आएको छ । अहिलेकै अवस्था कायम रहे पुँजी पलायन हुन सक्ने र भएका रोजगारीसमेत संकुचन हुन सक्ने निजी क्षेत्रको भनाइ छ ।

विद्युत महसुल विवादका कारण देशका २३ वटा उद्योग १० दिनदेखि पूर्ण रूपमा बन्द छन् । २० हजारभन्दा बढी श्रमिक बेेरोजगार बनेका छन् । उद्योगी व्यवसायीहरूले संरक्षण खोजिरहेका बेला अहिले झन् हेपिएको महसुस गरेका छन् । जेन-जी आन्दोलनपछि लगानीको वातावरण झनै बिग्रिएको छ। 

औद्योगिक लगानी गर्न तम्सिएका उद्यमीहरू तर्सिएका छन् । तत्कालका लागि बाह्य लगानीकर्ता आउनेभन्दा पनि नेपालमा भएको लगानी जोगाउनै कठिन भइरहेको छ । यस्तो अवस्थामा भएका रोजगारी बचाउन र अर्थतन्त्रको पुन:उत्थानका लागि संसारभर रहेका नेपालीलाई नै स्वदेशी उद्यममा लगाउनु पर्ने सुझाव गैरआवासीय नेपालीहरूको छ ।

कुनै पनि मुलुकमा रोजगारी सिर्जनाका प्रमुख आधारस्तम्भ भनेकै निजी क्षेत्र हो । जेन-जी आन्दोलनपछि निजी क्षेत्र अहिले पर्ख र हेरको अवस्थामा छ । उसले आन्दोलनका क्रममा उद्योग व्यवसायमा क्षति पुर्‍याउनेमाथि कानुनी कारबाही र पुन:उत्थानको प्याकेज खोजिरहेको छ । निजी क्षेत्रलाई विश्वास नलिँदासम्म थप लगानी हुन नसक्ने उद्योग वाणिज्य महासंघका पदाधिकारीको भनाइ छ ।

रोजगारी सिर्जनामा नेपालको निजी क्षेत्रको योगदान करिब ८० प्रतिशत छ । तर, माग अनुसारको रोजगारी सिर्जना नहुँदा श्रम बजारमा बर्सेनि आउने ५ लाखभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीमा गइरहेको छ । अहिलेको अवस्था रहिरहे रोजगारीका लागि हाम्रो परनिर्भरता अझ गहिरिने निश्चित छ । त्यसमाथि उद्योगलाई चाहिने दक्षजनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै वर्षदेखि गरिने भनिएको राष्ट्रिय रोजगार कार्यक्रम सुरू नै हुन सकेको छैन ।

अहिले पनि रोजगारी सिर्जना नेपालको एक प्रमुख मुद्दा हो । श्रम बजारमा आएका जनशक्तिलाई स्वदेशमै रोजगारी हुनुपर्छ भन्ने जेन-जी युवाहरूको पनि माग रहेको छ । वैदेशिक रोजगारीमा विभिन्न समस्या आइरहेको अवस्थामा स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर तथा लगानीको वातावरण सिर्जनामा जोड दिनुपर्ने आवश्यकता छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।