मेरो लोकसभा सदस्यता रद्द गरेर, धम्काएर, जेलमा हालेर मलाई यिनीहरूले रोक्न सक्दैनन् : राहुल गान्धी

चैत्र ११, २०७९ |राजेश मिश्र
मेरो लोकसभा सदस्यता रद्द गरेर, धम्काएर, जेलमा हालेर मलाई यिनीहरूले रोक्न सक्दैनन् : राहुल गान्धी

नयाँदिल्ली । मानहानी मुद्दामा दोषी ठहरभएसँगै आफ्नो लोकसभा सदस्यता गुमाएका कांग्रेस नेता राहुल गान्धीले आफ्ना कुरा भन्न एक विशेष प्रेस ब्रिफिङ आयोजना गरे । 

ब्रिफिङमा उनले एक पटक फेरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अदानी समूहबीचको सम्बन्ध बारे प्रश्न उठाए  । उनले आफू प्रश्न गर्न नछोड्ने प्रस्ट पार्दै भने, ‘नरेन्द्र मोदीको अदानीसँग के सम्बन्ध छ ? अनि २० हजार करोड रुपैयाँ कहाँबाट आयो र त्यो कसको हो ? म सोध्दै जाने छु ।’

राहुलले अदानी-मोदी सम्बन्धबारे आफूले लगाएका आरोपलाई लोकसभा सदनबाटै हटाइएको दाबी पनि गरे । ‘मैले सदनमा त्यसका बारेमा प्रमाण पेस गरेँ । त्यसबारेमा सभामुखलाई विस्तृतमा लेखेँ पनि । तर केही फरक परेन,’ उनले भने । सरकारले नियम परितर्वन गरेर अडानीलाई एयरपोर्टको जिम्मा लगाएको राहुलको आरोप छ । उनले मोदी गुजरातको मुख्यमन्त्री रहेदेखि नै अडानीले संरक्षण पाएकोसमेत आरोप लगाएका छन् ।

राहुलले आफूलाई तिनीहरूदेखि कुनै डर नलाग्ने बताउँदै थपे, ‘यिनीहरूले मेरो लोकसभा सदस्यता रद्द गरेर, धम्काएर, जेलमा हालेर मलाई रोक्न सक्छन् ? सक्दैनन् । मेरो इतिहास त्यो छैन । म लोकतन्त्रको लागि लडिरहेको छु र भारतीय लोकतन्त्रको लागि लडिरहने छु ।’

उक्त पत्रकार सम्मेलनमा राहुलले प्रधानमन्त्री मोदी र अदानी समूहलाई केही गम्भीर आरोप लगाए । उनले आफूले अघिल्लो पटक अदानी समूहको बारेमा दिएको भाषणदेखि प्रधानमन्त्री मोदी डराएको उनको आँखामा देखेको बताए ।

अदालतको फैसलाका बारेमा भने उनले कुनै टिप्पणी गर्न चाहेनन् । उनले भने कि मुद्दा अदालतमा छ । त्यस बारेमा यहाँ कुनै टिप्पणी गर्दिनँ ।

अब के हुन्छ ?

दिल्लीको अकबर रोडस्थित कांग्रेस पार्टी मुख्यालयमा पत्रकारहरू माझ राहुल गान्धीले आफू सांसद पदमा रहे पनि  वा नरहे पनि आफ्नो काम गर्दै जाने बताए । ‘म संसद् भित्र रहूँ, या बाहिर, मलाई कुनै फरक पर्दैन,’ उनले भने ‘म आफ्नो काम गरिरहने छु ।’ 

राहुल निर्वाचित रहेको केरलको वायनाड क्षेत्रका जनतासँग पारिवारिक सम्बन्ध रहेको भन्दै त्यहाँका मानिसहरूसँग आफ्नो मुटुमा रहेको कुरा साट्ने उल्लेख गरेका छन् । उनको सदस्यता खारेजीसँगै वायनाडा निर्वाचन क्षेत्र रिक्त भएको छ । त्यहाँ उपनिर्वाचनको सम्भावना छ । माथिल्लो अदालतबाट राहुलको पक्षमा फैसला नआए उनी चुनाव त्यो लड्न भने पाउने छैनन् ।

सम्बन्धित समाचार...

मानहानि मुद्दामा राहुल गान्धीविरुद्ध दुई वर्ष जेल सजायको फैसला

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सदस्यता खारेजसँगै ममता, प्रियंका, अरविन्द र शिवराजले के भने ?


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।