अमेरिका र चीनबीचको आयात कर ९० दिनका लागि स्थगित गर्ने सहमति

वैशाख २९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिका र चीनबीचको आयात कर ९० दिनका लागि स्थगित गर्ने सहमति

काठमाडौं । अमेरिका र चीनबीच एक अर्का देशबाट आयात हुने वस्तुमा लगाइएको जवाफी आयात करको व्यवस्था ९० दिनका लागि स्थगित गर्ने सहमति भएको छ । यो व्यवस्था यही मे १४ देखि कार्यान्वयनमा आउने बताइएको छ । 

दुवै देशबीच स्वीट्जरल्यान्डको जेनेभामा केही दिनदेखि जारी वार्तामा यस्तो सहमति भएको हो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जेनेभामा बोल्दै यस्तो घोषणा गर्नुभएको हो । बेसेन्टले चिनियाँ पक्षसँग भएको व्यापक छलफलपछि दुवै देश यस्तो सहमतिमा पुगेको जानकारी दिनुभयो । जवाफी कर स्थगनको अर्थ दुवै देशले एकअर्काको देशबाट आयात हुने सामानमा हाल लाग्दै आएको आयात करलाई ११५ प्रतिशतले घटाउने छन् ।

चिनियाँ वाणिज्य मन्त्रालयले थप आयात कर निलम्बनको पुष्टि गर्दै अमेरिकाविरुद्ध अप्रिल २ यता लगाइएको सबै जवाफी आयात करको व्यवस्था स्थगित गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

आजको यो घोषणा हुनुअघि अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत र जवाफमा चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १२५ प्रतिशत आयात कर लगाउँदै आएका छन् ।

जेनेभा वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अर्थमन्त्री स्कट बेसेन्टले र चिनियाँ पक्षको नेतृत्व उपप्रधानमन्त्री हे लाइफेङले गर्नुभएको थियो ।

राष्ट्रपति डनल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुमा भारी आयात कर लगाएपछि चीनले पनि प्रतिकारमा उच्च आयात कर लगाएको थियो । एकअर्कामाथि आयात कर थोपर्ने क्रममा ट्रम्पले चिनियाँ वस्तुमाथिको आयात कर १४५ प्रतिशतसम्म पुर्‍याउनुभएको थियो भने चीनले पनि अमेरिकी सामानमाथिको आयात कर १२५ प्रतिशतसम्म पुर्‍याएको थियो । 

यसरी कर युद्धमा ओर्लिएका यी दुव देशबीच स्वीटजरल्यान्डमा भएको यो वार्ता नै पहिलो पहिलो प्रत्यक्ष भेटघाट हो । वार्तामा उल्लेख्य प्रगति भएको दुवै देशले जनाएका छन् । यी दुई देशबीचको चर्को आयात शुल्कले वित्तीय बजारमा हलचल निम्त्याएको थियो भने विश्वव्यापी मन्दीको त्रास सिर्जना गरेको थियो ।