महिला टी ट्वेन्टी विश्वकप एसिया छनोट : नेपाल हङकङसँग ७ विकेटले पराजित

सुपर थ्रीमा पुग्ने सम्भावना कमजोर
वैशाख ३०, २०८२ |खेल ब्युरो
महिला टी ट्वेन्टी विश्वकप एसिया छनोट : नेपाल हङकङसँग ७ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । नेपालले जित हात पारेको भए एक खेल अगावै सुपर थ्रीमा पुग्ने थियो ।

वर्षाका कारण खेल ढिलो सुरु हुँदा पाँच ओभरमा झारिएको थियो । हङकङले टस जितेर पहिले फिल्डिङ रोज्यो । नेपालले पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रनको योगफल बनाएको थियो । सम्झना खड्का १० र कविता कुँवर २ रनमा आउट भए । पूजा महतोले ३ रन जोडिन् । कप्तान इन्दु बर्मा ९ र रुविना क्षेत्री ४ रनमा अविजीत रहे । हङकङका लामेइ वाइ सिउले तीन विकेट लिइन् । 

बलिङतर्फ नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । कविता कुँवरले पहिलो ओभरमा मात्र २ रन खर्चिएर एक विकेट लिएकी थिइन् । यसै ओभरमा रन आउट पनि गरेपछि नेपाल बलियो स्थितिमा पुगेको थियो । ओपनरका इङ चान र नतासा माइल्स शून्यमा आउट भए । दोस्रो ओभरमा पूजाले ६ रन खर्चिइन् । तेस्रो ओभर फाल्न आएकी रिया शर्मा पनि किफायती रहिन् । उनको ओभरमा हङकङकले केवल तीन रन बनाएको थियो । तीन ओभर सकिँदा हङकङले दुई विकेटको नोक्सानीमा १४ रन बनाएको थियो । तर पूजाको दोस्रो ओभर महँगो साबित भयो । 

चौथो ओभरको दोस्रो बलमा साहनजेन साहजदले छक्का प्रहार गरेपछि नेपाल दबाबमा आएको थियो । हङकङले चार ओभर तीन बलमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । कविताले दुई विकेट लिइन् । यो हारले नेपालको सुपर थ्री यात्रा कठिन बनेको छ । 

हङकङ तीन खेलबाट चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपालको तीन अंक छ । नेपाल र हङकङबीचको पहिलो लेग वर्षाका कारण रद्द भएको थियो । अब नेपालले बिहीबार बहराइनसँग खेल्नेछ । जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले बहराइनलाई हराएको थियो ।