काठमाडौं । तुर्किएमा ४ दशकदेखि सशस्त्र विद्रोह गर्दै आएको प्रतिबन्धित कुर्दिश लडाकु तथा राजनीतिक समूह कुर्दिस्तान वर्कर्स पार्टी ‘पीकेके’ले हतियार बिसाउने र संगठन भंग गर्ने ऐतिहासिक घोषणा गरेको छ ।
जेलमा रहेका यो समूहका ७६ वर्षीय नेता अब्दुल्लाह ओकलानले गत फेब्रुअरीमा संगठन विघटनको आह्वान गर्नुभएको थियो र सोही अनुरूप उक्त संगठन विघटन भएको बताइएको छ । तुर्किए, अमेरिका, बेलायत र युरोपेली संघले पीकेकेलाई आतंकारी समूहको सूचीमा राख्दै त्यसका गतिविधिमाथि प्रतिबन्ध लगाएका थिए ।
प्रारम्भमा यस संगठनको उद्देश्य कुर्द भनेर चिनिने कुर्दिश जातीय समूहका लागि स्वतन्त्र राज्य स्थापना गर्ने रहेको थियो । तुर्किएको जनसंख्याको करीब २० प्रतिशत कुर्दहरू छन् । पछि यस संगठनले आफ्नो पृथकतावादी लक्ष्यमा परिवर्तन गर्दै स्वायत्तता र कुर्दहरूका लागि अधिकतम राजनीतिक तथा सांस्कृतिक अधिकारको मागका साथ आफ्ना गतिविधि गर्दै आएको थियो ।
पीकेकेद्वारा तुर्किएमा गरिएको ४० वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा ४० हजारभन्दा बढी मानिस मारिएको जनाइएको छ ।
पीकेकेका नेता ओकलान २६ वर्षदेखि अर्थात् सन् १९९९ देखि इस्तानबुलको दक्षिण पश्चिममास्थित एउटा टापुमा रहेको जेलमा कालकोठरीमा रहँदै आउनुभएको छ । यसैवर्षको फेब्रुअरीमा जेलबाट एउटा पत्र लेख्दै ओकलानले राजनीतिक पद्धतिको खोजी र प्राप्तिका लागि लोकतन्त्रको विकल्प नभएको उल्लेख गर्दै संगठन विघटनको आह्वान गर्नुभएको थियो ।
संगठन विघटनको बदलामा ओकलान र उनका समर्थकहरूले के प्राप्त गर्छन् भन्ने कुरा स्पष्ट नभए पनि ओकलानलाई जेलमुक्त गर्न सकिने अपेक्षा गरिएको छ ।
राष्ट्रपति रिसेप तैयप इर्दोआनको एके पार्टीका प्रवक्ताले विघटित हुने पीकेकेको निर्णय आतंकमुक्त तुर्किए स्थापनामा महत्त्वपूर्ण कदम भएको र यो प्रक्रियाको सरकारी संस्थाले निगरानी गर्ने बताएका छन् । यसै वर्षको मार्च १ मा पीकेकेले तुर्किए सरकार विरुद्ध एकतर्फी युद्धविरामको घोषणा गरेको थियो । पीकेकेको स्थापना सन् १९७८को नोभेम्बर २७ मा भएको थियो । प्रारम्भिक दिनमा यो संगठन दक्षिणपूर्वी टर्की, उत्तरी इराक र उत्तर पूर्वी सिरियाको कुर्दिश बाहुल्य पहाडी क्षेत्रमा आधारित थियो । पीकेकेले तुर्किएको राज्यसत्ता विरुद्ध सन् १९८४ देखि सशस्त्र विद्रोह सुरु गरेको थियो ।