राहुल गान्धीको सदस्यता खारेजसँगै ममता, प्रियंका, अरविन्द र शिवराजले के भने ?

चैत्र ११, २०७९
राहुल गान्धीको सदस्यता खारेजसँगै ममता, प्रियंका, अरविन्द र शिवराजले के भने ?

नयाँदिल्ली । सांसदको सदस्यता रद्दको फैसलापछि केही विपक्षी नेताहरु राहुल गान्धीको समर्थनमा उभिएका छन् । तर बीजेपीका नेताहरुले भने यो सबै कानुनअनुसारै भएको हो ।

सांसद पद खारेजसँगै सामाजिक सन्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै राहुलले भनेका छन्, ‘म भारतको आवाजका लागि लडिरहेको छु । म हरेक मूल्य चुकाउन तयार छु ।’

यसअघि बिहीबार सुरतको तल्लो एक अदालतले राहुल गान्धीले ‘मोदी थर’ माथी गरिएको टिप्पणीको विषयमा उनलाई दोषी ठहर्‍याएको थियो । यो मुद्दामा अदालतले राहुललाई दुई वर्षको जेल सजाय सुनाएको छ ।

भारतीय संसदको नियमअनुसार कोही जनप्रतिनिधिलाई दुई वर्ष वा त्यसभन्दा बढी जेल सजाय भएको अवस्थामा उसको सांसद पद (संसद् सदस्यता) खारेज हुन्छ ।

राहुलको संसद सदस्यता खारेजसँगै कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले मोदी सरकारमाथि आलोचना गरेका छन् । उनले भनेका छन् राहुलको आवाज दबाउने प्रयास भइरहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार खर्गेले भनेका छन्, ‘बीजेपीले उहाँलाई अयोग्य बनाउने हरेक प्रयास गरेको छ । यो कदम साँचो बोल्ने र लोकतन्त्रको मान्यता र संविधानअन्तर्गत रहेर काम गर्ने, संविधानको रक्षा गर्ने र जनताको हकको पक्षमा लड्नेहरुको मुख बोली बन्द गराउनका लागि उहाँ (राहुल गान्धी) लाई संसद्‌बाट बाहिर गराइएको हो ।’

अध्यक्ष खर्गेले आरोप लगाएका छन् कि राहुल गान्धीले वास्तविकतालाई देशका सामु राख्न चाहेका थिए त्यो विषय केन्द्रीय सरकारलाई मन परेको थिएन । यसैकारण उनको संसद् सदस्यता रद्द गराइएको हो ।

यस्तै कांग्रेस नेता प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेकी छन् । उनले भनेकी छन्, ‘नरेन्द्र मोदीजी तपाईंको चम्चा कार्यकर्ताले एक सहिद प्रधानमन्त्रीको छोरालाई देशद्रोही भने । तपाईंकै एक मुख्यमन्त्रीले प्रश्न उठाएका छन् कि राहु्ल गान्धीका पिता को हुन् ?’

प्रियंकाले ट्विटरमा लेखेकी छन्, ‘संसद् बैठकमा आफ्नो पूरै परिवार र कश्मीरी पण्डित समाजको अपमान गर्दै सोधेका छन् कि उनीहरु नेहरु नाम किन राख्दैनन् । तर तपाईंलाई कुनै न्यायाधीशले दुई वर्षको सजाय दिएका थिएनन् । तपाईंलाई संसद्‌बाट डिस्क्वालिफाइ गरिएन । राहुलजीले एक सच्चा देशभक्त जसरी गौतम अदानीको लुटमाथि प्रश्न उठाए । नीरव मोदी र मेहुल चौकसीमाथि प्रश्न उठाए ।’

राहुललाई विपक्षीको समर्थन

राहुल गान्धीको संसद् सदस्यता पद रद्द भएपछि विपक्षी नेताहरुको पनि प्रतिक्रिया आएको छ । जसमा केही विपक्षी नेताहरुले राहुलको खुलेरै समर्थन गरेका छन् ।

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले भनेका छन् कि- देशमा एक पार्टीको शासनको माहोल बनाइँदै छ ।

उनले भनेका छन्, ‘आज देशमा जे भइरहेको छ त्यो एकदमै खतरनाक छ । विपक्षीलाई सकेर यिनीहरु एक देश एक पार्टीको माहोल बनाउन चाहेका छन् । यसैलाई तानाशाही भनिन्छ । देशवासीमा मेरो अपिल छ- हामी मिलेर अगाडि आउनु छ । जनतन्त्र बचाउनु छ । देश बचाउनु छ ।’

उनले ट्विटरमा लेखेका छन्, ‘लोकसभाबाट राहुल गान्धीजीलाई निष्कासित गर्नु छक्क पर्ने कुरा हो । देश एकदमै कठिन परिस्थितिबाट अघि बढिरहेको छ । पूरै देशलाई यिनीहरुले डराएर राखेका छन् । १३० करोड जनता यिनीहरुको अहंकारी सत्ताको विरुद्धव एक हुनुपर्छ ।’

यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ट्विटमार्फत भनेकी छन्, ‘पीएम मोदीको न्यु इन्डियामा बीजेपीको निसानामा विपक्षी नेता ! आपराधिक पृष्ठभूमि भएका भाजपाका नेताहरुलाई सरकार (मन्त्रीमण्डल) मा सामेल गराइन्छ । विपक्षी नेताहरुलाई उनीहरुको भाषणका लागि अयोग्य ठहराइन्छ । आज मैले आफ्नो संवैधानिक लोकतन्त्रमा एक नयाँ तल्लो स्तर देखें ।’

यस्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले भनेका छन्- जसले जस्तो गर्छ, उसले त्यस्तै परिणाम भोग्नुपर्छ । राहुल गान्धीले जे गरे अब त्यसको परिणाम उनले भोग्नै पर्छ । -बीबीसी

थप समाचार...

मानहानि मुद्दामा राहुल गान्धीविरुद्ध दुई वर्ष जेल सजायको फैसला
राहुल गान्धीको सांसद पद खारेज