इटालियन ओपनको चौथो चरण प्रवेश गरे अल्काराज

वैशाख २९, २०८२ |खेल ब्युरो
इटालियन ओपनको चौथो चरण प्रवेश गरे अल्काराज

काठमाडौं । स्पेनिस कार्लोस अल्काराज, पहिलो पटक इटालियन ओपन टेनिसको चौथो चरण प्रवेश गरेका छन् ।

रोममा भएको प्रतिस्पर्धामा अल्काराजले सर्वियाका लास्लो जेरेलाई सोझो सेटमा पराजित गरेका हुन् । पहिलो सेट प्रतिस्पर्धात्मक बनेको थियो । टाइब्रेकरमा पुगेको यो सेट विश्व नम्बर ३ अल्काराजले ७-६ ले आफ्नो पक्षमा पारे । दोस्रो सेट सहजै ६-२ ले जितेपछि २२ वर्षीय अल्काराजले अन्तिम १६ मा स्थान सुरक्षित गरे । 

गत अप्रिलमा बार्सिलोना ओपनमा पनि अल्काराजले जेरेलाई हराएका थिए । उनको सिजनको यो २६औं जित हो । अल्काराजले जित हात पार्न एक घण्टा ४४ मिनेट समय लगाए । 

अब उनको भेट रुसका करेन काचानोभसँग हुनेछ । २३औं वरियताका काचानोभले घरेलु खेलाडी फ्रान्सेस्को पासारोलाई ६-३ र ६-० को सेटमा हराएका हुन् । 

जर्मनीका अलेक्जेन्डर ज्वेरेभले पनि चौथो चरणमा स्थान बनाउँदा डेनमार्कका होल्ग रुन भने बाहिरिए । ग्रिसका स्टेफानोस चिचिपास पनि प्रतियोगिताबाट बाहिरिसकेका छन् ।