काठमाडौं । दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत नागरिक शरणार्थीका रूपमा अमेरिका पुगेका छन ।
राष्ट्रपति डनल्ड ट्रम्पको एक विवादास्पद शरणार्थी योजनाअन्तर्गत दक्षिण अफ्रिकी नागरिकलाई अमेरिका लगिएको हो । ट्रम्पले उनीहरूलाई जातीय विभेदको सिकार बनाइएको भन्दै शरणार्थीको रूपमा छिटो प्रक्रिया मिलाइएको बताउनुभएको छ ।
ट्रम्प प्रशासनले दक्षिण अफ्रिकामा श्वेत किसान लक्षित जातीय हत्या र जग्गाको मुआब्जा नदिई जफतसमेत गर्न लागिएको आरोप लगाएको छ ।
तर, दक्षिण अफ्रिकी सरकारले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । उसले शरणार्थी कानुनअनुसार उनीहरूलाई शरण दिनुपर्ने कुनै आधार नभएको जनाएको छ ।
ट्रम्प प्रशासनले अन्य धेरै मुलुकका शरणार्थीहरूको प्रक्रिया रोकिरहेको समयमा उक्त समूहलाई विशेष प्राथमिकता दिएको छ । डालस विमानस्थलमा अमेरिकी झन्डा र रङ्गीन बेलुन राखेर उनीहरूलाई स्वागत गरिएको थियो ।
उता, संयुक्त राष्ट्र संघको शरणार्थी निकाय यूएनएचसीआरले भने यो प्रक्रियामा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेको छ ।