मानहानि मुद्दामा राहुल गान्धीविरुद्ध दुई वर्ष जेल सजायको फैसला

चैत्र ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
मानहानि मुद्दामा राहुल गान्धीविरुद्ध दुई वर्ष जेल सजायको फैसला

नयाँ दि‍ल्ली । भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई सुरतको एक अदालतले एउटा मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ ।

गुजरातको सुरतस्थित अदालतले चारवर्ष पूरानो उनको अभिव्यक्तिविरुद्ध परेको मानहानि मुद्दा उपर बिहीबार फैसला सुनाएको हो । अदालतले उनलाई माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएकाले उनलाई तत्काल पक्राउ भने गरिने छैन ।

सन् २०१९ को लोकसभाको चुनावी सभाका क्रममा कर्नाटकको कोलारमा उनले भनेका थिए– ‘सभी चोरोका सरनेम मोदी क्यों ? ’ अर्थात सबै चोरको थर मोदी नै किन हुन्छ ? भन्ने अभिव्यक्तिले उनलाई अप्ठ्यारोमा पारेको हो ।

भाजपा विधायक पूर्णश मोदीले त्यसविरुद्ध गान्धीमाथि मानहानीको मुद्दा दायर गरेका थिए । चार वर्षदेखि उक्त मुद्दाको सनुवाइ सुरतको अदालतमा हुँदै आएको थियो । अदालतले मानहानी मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै २ वर्ष कैद र १५ हजार जरिवानाको फैसला सुनाएको हो । सुनवाइको क्रममा गान्धी अदालतमै उपस्थित थिए ।

मिडिया रिपोर्टका अनुसार उनले आफ्नो भाषणको आशय कसैलाई ठेस पुर्‍याउने नभई भ्रष्टाचारविरुद्ध मात्रै रहेको भन्दै आफ्नो बचाउ गरेका थिए।

अदालतको आदेशपछि ट्विटरमा गान्धीले महात्मा गान्धीको भनाइ लेखेका छन् । जसमा भनिएको छ ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो भगवान हो, त्यसको प्राप्तिको साधन अहिंसा ।’

यस्तै गान्धीविरुद्ध अदालतले सजाय सुनाएपछि कांग्रेस त्यसको प्रतिकारमा उत्रिएको छ । कांग्रेसले आफ्नो ट्वीटर हेन्डलबाट तीन वटा ट्वीट गरेको छ । कांग्रेसले राहुल गान्धीले तानाशाहविरुद्ध आवाज बुलन्द गरिरहेको र गलतलाई गलत भन्ने साहस देखाइरहेको जनाएको छ । साथै अदालतको फैसलाविरुद्ध गान्धीले न्यायसंगत अपिल दायर गर्ने उल्लेख गर्दै कांग्रेसले त्यसविरुद्ध लड्ने र जितेरै छाड्ने दाबी गरेको छ । कांग्रेसले अर्को ट्वीटमा लेखेको छ, गान्धी डराउने छैनन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.