चिकित्सक आन्दोलन : हजारौं बिरामी नियमित उपचारबाट वञ्चित

श्रावण १३, २०८३ |कृपाल गौतम
चिकित्सक आन्दोलन : हजारौं बिरामी नियमित उपचारबाट वञ्चित

काठमाडौं । चिकित्सकहरुको आन्दोलनका कारण बुधबार दोस्रो दिन पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भए । 

जसका कारण अस्पतालहरुका आकस्मिक विभागमा बिरामीको अत्यधिक चाप पर्यो । चिकित्सक संघ भन्छ- आन्दोलनमा उत्रिनुपर्ने अवस्था रातारात सिर्जना भएको होइन, राज्यले स्वास्थ्य क्षेत्रलाई निरन्तर उपेक्षा गर्दाको नतिजा हो यो ।

वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणका दोषीलाई कारबाही र पेसागत सुरक्षाको माग गर्दै चिकित्सकहरुले बुधबार दोस्रो दिन पनि आन्दोलन जारी राखे । आकस्मिकबाहेकका सेवा ठप्प हुँदा देशभर हजारौं सेवाग्राही नियमित उपचारबाट वञ्चित भए ।

चिकित्सकहरुले बुधबार काठमाडौंको माइतीघरमा भेला भई विरोध प्रदर्शन गरे भने उपत्यकाबाहिर आफू कार्यरत संस्थामा धर्ना दिए । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पटक-पटक कुटपिट र सुरक्षाको ग्यारेन्टी नहुँदा आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ ।

चिकित्सकहरु भन्छन्- 'आन्दोलनमा आउनुपर्ने अवस्था रातारात सिर्जना भएको होइन।' राज्यले स्वास्थ्य क्षेत्रलाई निरन्तर उपेक्षा गर्दा, सुरक्षा व्यवस्था चुस्त नबनाउँदा, स्वास्थ्यकर्मीको सुरक्षाका लागि ल्याइएको ऐन कार्यान्वयन नगर्दा र उपकरण, बजेट, जनशक्ति तथा पूर्वाधारलगायतका अनगिन्ती समस्याको समयमै सम्बाेधन गर्न नसक्दा यस्ता घटना पटक-पटक हुने गरेको उनीहरुको भनाइ छ ।

चिकित्सकको सुरक्षाको माग जति संवेदनशील छ, बिरामीको उपचार पाउने मौलिक हक पनि त्यत्तिकै महत्त्वपूर्ण छ। स्वास्थ्य क्षेत्र नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएकाले चिकित्सकहरुले सेवा नै ठप्प पार्नुभन्दा पनि अन्य विकल्प अपनाउन जरुरी छ ।

सम्बन्धित समाचार :

चिकित्सक सुरक्षा कि बिरामीको अधिकार ? स्वास्थ्य सेवा ठप्प


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।