
सल्यान । प्रोत्साहन भत्ताको निरन्तरता र समान सेवा-सुविधा माग गर्दै कर्णाली प्रदेशमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक र स्वास्थ्यकर्मीहरू शुक्रबारदेखि आन्दोलित छन् ।
प्रदेश सरकारले दिँदै आएको प्रोत्साहन भत्ता रोकेपछि उनीहरू आन्दोलित भएका हुन् । चिकित्सक र स्वास्थ्यकर्मीले गत शुक्रबारदेखि दैनिक दुई घन्टा ओपीडी सेवा बन्द गर्दै आन्दोलन जारी राखेकोमा मगंलबार चार घन्टा ओपीडी बन्द गरे । जसको प्रत्यक्ष मारमा बिरामीमा परेका छन् ।
शारदा नगरपालिका १ सल्यानकी सीता हमाल मगंलबार आफ्नी गर्भवती बुहारीलाई जाँच गराउन जिल्ला अस्पताल सल्यान पुगिन् । बिहान ९ बजे अस्पताल पुगेकी हमालले अस्पतालको सेवा बन्द हुँदा समस्या भोग्नुपर्यो । शारदा नगरपालिका १२ का ६५ वर्षीय थिरबहादुर गिरीले पनि डाक्टरहरूको हड्ताल थाहा नपाएर अस्पताल जाँदा दुखमात्रै पाए ।
सरकारले चालु आर्थिक वर्षदेखि 'कर्णाली प्रोत्साहन भत्ता' कटौती गरेपछि प्रदेशमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा बिरामीले सास्ती भागेका छन् ।
भत्ता कटौतीको विरोधमा शुक्रबारदेखि स्वास्थ्यकर्मीहरूले दुई घन्टा सेवा अवरूद् गर्नुका साथै हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन् । २०७६ साल मंसिरदेखि कर्णाली सरकारले प्रदेशमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई जिल्ला र तहअनुसार ५० देखि १ सय ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिँदै आएको थियो ।
आन्दोलिनरत चिकित्सक र स्वास्थ्यकर्मी संघर्ष समितिले २४ घन्टाभित्र माग पूरा गर्न भन्दै गएको बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्ललाई ज्ञापन पत्र बुझाएका थियो । माग पूरा नभएपछि शुक्रबारदेखि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
अझै माग पूरा नभए आउने बिहिबारदेखि सबै सेवा ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन् । यता कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूलाई आकस्मिक स्वास्थ्य सेवा अवरुद्ध हुने गरी आन्दोलनमा संलग्न नहुन चेतावनी दिँदै काममा फर्किन निर्देशन दिएको छ ।
स्वीकृत सम्झौता र कबुलियतनामाविपरीत आन्दोलनमा संलग्न हुनेलाई तत्काल गयल कट्टी गरिने जनाइएको छ । स्थायी चिकित्सक तथा कर्मचारीको संलग्नता पाइएमा प्रदेश निजामती सेवा ऐन, २०८० बमोजिम विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।
२०७६ मंसिरदेखि कर्णाली सरकारले ११औँ तहका चिकित्सकलाई सुर्खेतमा ७५, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा ९०, कालीकोटमा शतप्रतिशत, डोल्पा, हुम्ला र मुगुमा १३५ प्रतिशत प्रोत्साहन भत्ता दिँदै आएको थियो ।
त्यस्तै नवौँ र दशौँ तहका चिकित्सकलाई सुर्खेतमा ७५, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा ८०, कालीकोट र जुम्लामा ९०, हुम्ला, डोल्पा र मुगुमा १२५ प्रतिशत र आठौँ तहका चिकित्सकलाई सुर्खेतमा ५०, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा ६०, कालीकोट र जुम्लामा ७५, हुम्ला, डोल्पा र मुगुमा कार्यरतलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिँदै आएकोमा साउनयता कटौती गरेको छ ।