
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताललाई सरकारले आर्थिक वर्ष २०७६/७७ मै पाँच सय बेडमा स्तरोन्नति गर्न प्रस्ताव गरेको थियाे । तर, अहिलेसम्म पनि २०५१ सालमै स्वीकृत दुई सय बेड क्षमतामै सञ्चालनमा छ ।
०५१ सालको तुलनामा अहिले बिरामीको चाप झन्डै पाँच सय प्रतिशतले बढेको छ । तर चिकित्सक, पूर्वाधार र प्रविधिको अभावमा यो अस्पताल सधैं विवादमा पर्ने गरेको छ ।
साउन ९ गते शनिबार नारायणी अस्पतालमा उपचार गराउन आएका वीरगञ्ज २५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारको क्रममा इमर्जेन्सी वार्डमा मृत्यु भयो । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्त र गाउँलेले अस्पतालमा तोडफोडसँगै चिकित्सक र स्वास्थ्यकर्मीलाई कुटपिट गरे ।
नारायणी अस्पतालमा बिरामीको मृत्यु र चिकित्सकमाथि कुटपिटको यो घटना पहिलो होइन । यसअघि पनि थुप्रै यस्ता घटना भएका छन् । साउन ९ गते भएको यस घटनामा गम्भीर घाइते भएका चिकित्सक प्रमोद रामको उपचार अहिले काठमाडौंमा भइरहेको छ भने सहकर्मी कुटपिटको विरोधमा आन्दोलित चिकित्सकहरूले आइतबारदेखि अस्पतालको आपतकालीन सेवासमेत ठप्प पारेका छन् ।
उनीहरूले प्रशासनको दबाब थेग्न नसकेको भन्दै सामूहिक राजीनामा समेत गरेका छन् । चिकित्सक कुटपिटको विरोध र दोषीलाई कारबाही माग गर्दै वीरगञ्जबाट सुरु भएको चिकित्सक आन्दोलनको असर देशैभरका स्वास्थ्य संस्थामा परेको छ । अस्पतालको आपतकालीन सेवासमेत ठप्प पारी चिकित्सकहरूले सामूहिक राजीनामा दिएपछि बिरामीहरू स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।
नारायणी अस्पताल मध्यतराईकै सबैभन्दा पुरानो अस्पताल हो । वीर अस्पतालभन्दा दुई वर्ष कान्छो यो अस्पताललाई सरकारले २०७६/७७ मै पाँच सय बेड क्षमतामा स्तरोन्नति गर्न प्रस्तावित गरिसकेको हो । तर, अहिले पनि यो अस्पताल २०५१ सालमै स्वीकृत दुई सय बेडकै जनशक्ति तथा पूर्वाधारमा सञ्चालनमा छ ।
अस्पतालको स्वीकृत जनशक्ति चिकित्सक कर्मचारीसहित एक सय ९१ छ । जसमध्ये २१ चिकित्सक र पारामेडिक्सको दरबन्दी खाली छ । पदपूर्ति भएकामध्ये ३० जना चिकित्सक र पारामेडिक्स अन्यत्र काजमा छन् । अस्पतालको ओपीडीमा अहिले दैनिक औसत १२ सय बिरामी पुग्ने गर्छन् ।
तीमध्ये झन्डै ५० जना अस्पताल भर्ना गर्नैपर्ने अवस्थाका हुन्छन् । तर, अस्पतालमा दैनिक मुस्किलले १० देखि १५ बेडका बिरामी डिस्चार्ज हुन्छन् । बेड अभावले बाँकी बिरामीलाई अस्पतालले फिर्ता गर्नुपर्ने बाध्यता छ । अस्पतालको इमर्जेन्सीमा दैनिक औसत एक सय ५० जना बिरामी आउँछन् । तर, यहाँ १५ वटा मात्रै बेड छन् ।
बेड अभाव हुँदा इमर्जेन्सीका बिरामीलाई उपचार गर्न समस्या छ । अब्जर्भेसनमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई जेनरल वार्डमा सार्नपर्नेुपर्ने हुन्छ । बेड नपाउँदा बिरामी त मारमा छन नै, इमर्जेन्सीमा खटिने चिकित्सकहरू जोखिमका पर्ने गरेका छन् ।
दुई सय स्वीकृत क्षमताको पूर्वाधार र दरबन्दीका बीच बिरामीको चाप धान्न नसकेपछि अस्पताल विकास समिति र अन्य कार्यक्रमबाट खर्च धान्ने गरी एक सय दुई बेड थप गरी तीन सय दुई बेडमा सञ्चालनमा छ । तर, बेडअनुसारको पूर्वाधार, प्रविधि र जनशक्ति यो अस्पतालसँग छैन ।
अस्पतालसँग डायलासिस, एमआरआई, सिटी स्क्यानलगायतका उपकरण भए पनि कन्सल्टेन्ट चिकित्सक छैनन् । भएकै स्रोतसाधनबाट उपचार सेवा दिँदै आएको यो अस्पतालमा एकातिर बिरामी मारमा पर्नेगरेका छन भने भैपरी हुने घटनामा बिरामी पक्षले अस्पतालका चिकित्सकहरूलाई नै दोषी देखाएर पटक पटक भौतिक आक्रमण गर्ने क्रम रोकिएको छैन ।