
बागलुङ । असोज दोस्राे साता आएको अविरल वर्षासँगैको बाढी र पहिरोले बागलुङमा ठूलो धनजनको क्षति पुर्यायो।
असोजको ९ देखि ११ गतेसम्मको वर्षापछिकाे बाढी र पहिरोमा १३ र सोमबारको पहिरोमा परि थप दुई गरी कुल १५ जनाले ज्यान गुमाएका छन् भने घाइते पाँच जनाको उपचार जारी छ। बाढी र पहिरो तथा कटानले पुर्याएको आर्थिक तथा भौतिक क्षतिको विवरण संकलन कार्य अझै जारी छ।
कालिगण्डकी नदी तथा अन्य साना तथा ठूला खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गका ठाउँठाउँमा क्षति पुर्याउँदा बागलुङसँगै रुकुमदेखि जाजरकोटसम्मको सडक सम्पर्कविच्छेद भएको छ। जसले सदरमुकाम बागलुङ बजार तथा गलकोट र बुर्तिबाङ्ग बजारजस्ता ठूला व्यापारिक केन्द्रकाे सडक सम्पर्कविच्छेद हुँदा जनजीवन प्रभावित बनेको छ।
असोज ९ गते यतादेखि बागलुङमा बाढी र पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी निसीखोलामा सात जना, तमानखोला गाउँपालिमा पाँच जना र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। पहिरोमा परी पाँच जना घाइते भएका छन्।
बाढी र पहिरोबाट जिल्लामा सात पुरुष, पाँच महिला र तीन बालबालिकाले ज्यान गुमाएका छन् । बाढी र पहिरोले मानवीय मात्र नभइ ठूलो मात्रामा भौतिक र सडक सञ्जालमा क्षति पुगेको छ । अहिले विस्थापितहरु आफन्त र नजिकैको विद्यालय तथा टेन्टमा आश्रय लिइरहेका छन् ।
बाढी र पहिरोले एक सय १३ वटा घर गोठमा पूर्ण र आंशिक क्षति पुगेको छ । पहिरोबाट जिल्ला भर दुई सय ५६ वटा पशुचौपायको मृत्यु भएको छ । बाढी र पहिरोको कारण बागलुङमा गल्कोट नगरपालिका वडा न ९ को भवन, दुईवटा प्रहरी कार्यालय, तीनवटा झोलुङ्गगे पुल, दुईवटा हाइड्राेपावर, विद्यालय, रिसोर्ट, कृषिफर्म तथा सडक बगाएको छ ।
पहिरो र बाढी पीडितहरुको पुनर्स्थापना र पुन:निमार्णको लागि स्थानीय तहदेखि जिल्ला विपद् व्यवस्थापन समिति सक्रिय बनेका छन् । चार्डपर्व नजिकिँदै गर्दा बाढी पहिरोले आफन्त र घर गुमाउँदा यहाँका स्थानीबासीलाई थप पीडा थपिएको छ ।
पीडितहरुलाई क्षतिपूर्ति घरवार बिहिनहरुको पुनर्स्थापना र आवासको लागि सरकारले समयमा पहल नगरेमा अर्कोतर्फ जाडो मौसम क्रमश: बढदै जाँदा स्थानीयमा समस्या निम्तने चिन्ता थपिएको छ ।