
काठमाडौं । के तपाईंलाई कहिलेकाहीँ मनभित्र एकदमै छटपटी हुने, एक्लो महसुस हुने, मनमा नराम्रो भावना वा आफूलाई हानी पुर्याउने लगायतका नकारात्मक सोच आउने गरेको छ ?
यस्तो भएमा नआत्तिनुस् । मानसिक स्वास्थ्य समस्याले गर्दा तपाईँलाई यस्तो भएको हुन सक्छ । अनि तपाईलाई थाहा छ ? यो समस्या समाधानका लागि तपाईँले घरैबाट एक कल गरे पुग्छ । विभिन्न संस्थाहरुले मानसिक बिरामीलाई लक्षित गरी विभिन्न हट लाइन नम्बरहरु सार्वजनिक गरेका छन् ।
जसमा कल गर्दैसाथ अनुभवी चिकित्सक र स्वास्थ्यकर्मीले तपाईँलाई घरैमा आएर परामर्श समेत दिन्छन् । तपाईँले ११६६ फ्रि हटलाइनका बारेमा कहिले सुन्नुभएको छ ? सुन्नुभएको छैन भने अब तपाईँ अत्यधिक निराश हुँदा वा मनमा नकारात्मक भावना आउँदा यो नम्बरमा कल गर्नुहोस् ।
हो २४ सै घण्टा सञ्चालन हुने यो नम्बरमा फोन गर्दा मानसिक स्वास्थ्य समस्याका बारेमा तपाईँले उचित परामर्श पाउनु हुन्छ । तपाईँको भावनामा सकारात्मक परिवर्तन आउन सक्छ । स्वास्थ्य मन्त्रालयले चलाएको यो हटलाइन नम्बर लगनखेलमा रहेको मानसिक अस्पतालका मनोपरामर्शकर्ताहरुले उठाउँछन् ।
तपाईँको कुरा सुन्छन् र तपाईँले अहिले भोगिरहेको मानसिक अवस्थाको राम्रो व्यवस्थापन गर्न सहयोग गर्छन् । अझ राम्रो कुरा तपाईँको सम्पूर्ण परिचय गोप्य राखिन्छ । यो नम्बरमा दैनिक ३० देखि ५० वटा फोन आउँछन् र हरेक फोनकर्ताले आफ्ना समस्या सुनाउँछन् ।
एक पटक फोन गरेकाहरुले पछि आफ्ना समस्या समाधानमा सहयोग गरेको भन्दै धन्यवाद दिन समेत यसैमा फोन गर्छन् । यो नम्बरमा कल गर्दा फोन गर्ने मानिसको मानसिक अवस्थाका बारेमा सुक्ष्म अध्ययन गरिन्छ । थप कस्तो सहयोग चाहिएको हो त्यहीँ अनुसारको सल्लाह र सहयोग प्रदान गरिन्छ ।
अनि अर्को कुरा, १८ वर्षभन्दा कम उमेरका कोही बालबालिका मानसिकलगायत कुनै पनि समस्यामा छन् भने तपाईँले १०९८ मा पनि कल गरेर परामर्श वा उनीहरुको उद्धार गर्न सक्नुहुन्छ । महिला बालबालिका मन्त्रालयको यो नम्बरमा फोन गर्दा पनि तपाईँको परिचय गोप्य राखिन्छ ।
यीबाहेक अहिले टिपियो नेपाल, कोशिशलगायत विभिन्न संस्थाहरुले पनि हटलाइन सञ्चालन गरिरहेका छन् । उनीहरुको सहयोगमा मानसिक स्वास्थ्यको परीक्षण र नकारात्मक भावनालाई न्यूनीकरण गरी राम्रो र सकारात्मक जीवन जिउन सहज हुन्छ ।
कतिलाई लाग्न सक्छ, फोन गरेर के हुन्छ ? तर, त्यस्तो होइन तपाईँले कसैलाई भन्न नसकेका कुरा फोन गरेर बताउनु सक्नु हुन्छ । एक पटक फोन गरेर हेर्नुस् त । तपाईँले निकै सहज महसुस गर्नुहुनेछ ।
सम्बन्धित समाचार :