रसुवा बाढी : कसैका छोरा बेपत्ता, कसैका आफन्त सम्पर्कमा- पर्खाइमा महोत्तरी

भाद्र १७, २०८३ |विकास आर्या
रसुवा बाढी : कसैका छोरा बेपत्ता, कसैका आफन्त सम्पर्कमा- पर्खाइमा महोत्तरी

महाेत्तरी । रसुवामा आएको विनाशकारी बाढीपछि महोत्तरीका पीडित परिवार अहिले आफ्नो घर सम्हाल्ने सन्तानको खबर पाउन व्यग्र छन् । 

पीडित परिवारमा अहिले चिन्ता, पीडा र निराशा बढ्दै गएको छ । रसुवामा पर्यटकलाई मानसरोवर यात्रा गराउने रिचा ट्रेक नामक संस्थामा कुकका रूपमा काम गर्दै आएका गंगाराम भदौ ९ गते परिवारसँग अन्तिमपटक कुराकानी गरेका थिए । त्यसपछि उनी सम्पर्कमा आउन सकेका छैनन् ।

गंगारामको खबर आठ दिनसम्म पनि नआएपछि उनकी श्रीमती गुञ्जा देवी, वृद्ध बुबा अशेश्वर मण्डल, आमा मिथिला देवी र चार सन्तान चिन्तामा छन् । परिवार चलाउने जिम्मेवारी गंगारामकै काँधमा छ । श्रीमानको कुनै खबर नआएपछि गुञ्जा देवीका लागि हरेक दिन भारी बन्दै गएको छ ।

गंगाराम घरको मुख्य सहारा थिए । छोरा सम्पर्कविहीन भएपछि वृद्ध बुबा अशेश्वर मण्डल आफ्नो पीडा शब्दमा व्यक्त गर्नसमेत कठिन अवस्थामा छन् । छोराको खबर आउने आशामा आमा मिथिला देवी पनि दिनरात बाटोतर्फ हेरेर बसिरहेकी छन् । 

छोरा सकुशल घर फर्किने आशाले उनलाई पर्खाइको पीडा सहन बाध्य बनाएको छ । गंगारामको परिवारजस्तै जलेश्वर नगरपालिका- ७ का हसन अन्सारीको परिवार पनि अहिले उस्तै पीडामा छ । ग्यारेज मेकानिकका रूपमा काम गर्दै आएका हसनले रसुवामा काम गर्न थालेको केही समय भएको थियो । 

बाढी आउनुभन्दा एक दिनअघि मंगलबार उनले आमाबुबालाई आफू घर आउन लागेको बताएका थिए । बुधबार बिहानसमेत आमाबुबासँग फोनमा कुराकानी भएको थियो । तर, त्यसपछि हसनको न फोन आयो, न उनी घर फर्किए । भोटेकोशीमा आएको बाढीपछि छोरा सम्पर्कविहीन हुँदा बुबा माजिद अन्सारी र आमा मुलिमा खातुनको आँसु रोकिएको छैन ।

हसन बुबाआमाका जेठो छोरो हुन् । उनका चार बहिनी छन् । परिवारको सहारा दाजु आठ दिनदेखि सम्पर्कमा नआएपछि बहिनी एरम खातुन पनि गहिरो पीडामा छिन् । रसुवाको बाढीले महोत्तरीका यी दुई परिवार जस्तै अन्य ८ परिवारकालागि पनि आफ्नो आफन्तको यो पर्खाइले गहिरो पीडा दिई रहेको छ । 

तर, यसबीचमा भोटेकोशी र त्रीशुलीमा आएको बाढीमा परेर सम्पर्कविहिन भएकामध्ये पाँचजना आफ्नो परिवारको सम्पर्कमा आएको सुखद समाचार पनि आइसकेको छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।