कर्णाली प्रादेशिक अस्पतालमा ८३ दरबन्दी रिक्त, बिरामीको चाप थेग्नै मुस्किल

श्रावण २७, २०८३ |देव राना|कमल पन्त
कर्णाली प्रादेशिक अस्पतालमा ८३ दरबन्दी रिक्त, बिरामीको चाप थेग्नै मुस्किल

सुर्खेत । भौतिक पूर्वाधारका हिसाबले प्रदेशकै अब्बल मानिन्छ कर्णाली प्रादेशिक अस्पताल सुर्खेत । 

जहाँ कर्णालीका दशवटै जिल्लासँगै सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीसमेत उपचारका लागि आउँछन् । दैनिक औसत दुई हजारभन्दा बढी बिरामी ओपीडीमा आउने यो अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि चिकित्सकसहित ८३ दरबन्दी रिक्त छन् ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतले विशिष्टकृत सेवा दिँदै आएको छ । धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रको सहयोगमा प्रदेश अस्पतालले असार पहिलो साता थप एक जनासहित नौ जनाको मिर्गाैला प्रत्यारोपण गरिसकेको छ । अस्पतालले आफ्नै हेलिप्याड निर्माण गरी पछिल्लो तीन महिनामा कर्णालीका दुर्गम जिल्लाबाट ३९ जना सुत्केरीको हवाई उद्धार गरी उपचारसमेत गरेको छ । तर, चाप बढ्दै जाँदा उपचारका लागि आउने बिरामीले लामो समय लाइनमा बस्नुपर्ने बाध्यत छ । 

एउटै चिकित्सकले ओपीडीसँगै शल्यक्रियामा समेत संलग्न हुनुपर्दा फलोअप तथा स्वास्थ्य जाँचका लागि घण्टौँ कुर्नुपरेको बिरामीको गुनासो छ । स्वास्थ्य बीमामार्फत उपचार गराउन आउने बिरामीले समेत सेवा लिन निकै सास्ती खेप्नुपरेको छ ।

बिरामीको अनुपातमा आवश्यक दक्ष जनशक्ति नहुँदा सेवा दिन कठिनाइ भएको चिकित्सकहरू बताउँछन् । जनशक्ति अभावकै कारण विगतमा नियमित सञ्चालनमा रहेका कार्डियोलोजी, प्याथोलोजी र न्युरोलोजीमा विशेषज्ञ सेवासमेत प्रभावित भएको छ ।

सरकारले प्रदेश अस्पतालका लागि १ सय ५० शय्याका आधारमा दरबन्दी स्वीकृत गरेको छ । तर, बिरामीको चाप बढेपछि अस्पतालले हाल २ सय ९९ शय्या सञ्चालन गरिरहेको छ । अस्पतालका लागि ३ सय २५ दरबन्दी स्वीकृत भए पनि ८३ वटा पद रिक्त छन् । 

कार्डियोलोजी, प्याथोलोजी र न्युरोलोजी सेवा करिब एक महिनादेखि नियमित सञ्चालनमा नरहेको अस्पताल प्रशासनले स्वीकार गरेको छ । ती सेवाका चिकित्सकको दरबन्दी रिक्त रहेकाले पदपूर्तिका लागि प्रदेश सरकारलाई लिखित जानकारी गराइसकेको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पतालको क्षमता विस्तार हुँदै गए पनि आवश्यक जनशक्ति व्यवस्थापन हुन नसक्दा उपचार सेवा प्रभावित हुने जोखिम बढेको छ ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।

Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।