मन्त्रीका लागि हेलिकोप्टर, नागरिकलाई भने सिटामोलकै अभाव

भाद्र २, २०८३ |कृपाल गौतम
मन्त्रीका लागि हेलिकोप्टर, नागरिकलाई भने सिटामोलकै अभाव

काठमाडौं/धनगढी । भाइरल रुघाखोकीको लक्षण देखिएका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललाई आइतबार बैतडीबाट उद्धार गरेर सेनाको हेलिकोप्टर र स्काइ ट्रकमार्फत आकस्मिक रुपमा काठमाडौं ल्याइयो । 

यो उद्धारपछि एकातिर सुदूरपश्चिममा आधारभूत स्वास्थ्य सेवासमेत उपलब्ध नभएको जस्तो देखिएको छ भने अर्कोतिर पहुँचवाला व्यक्तिलाई लाखौं खर्च गरेर तत्काल उद्धार गर्ने परिपाटीले सर्वसाधारणमाथि राज्यको विभेदपूर्ण व्यवहार स्पष्ट भएको भन्दै बहस र तीव्र आलोचना भइरहेका छन् ।

सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था कस्तो छ ? नागरिकले स्वास्थ्य सेवामा सहज पहुँच पाइरहेका छन् कि छैनन् ?

भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल सुदुरपश्चिमका पहाडी जिल्लाको स्थलगत अनुगमनका क्रममा बैतडी पुग्नुभएको थियो । त्यसक्रममा उहाँ अस्वस्थ हुनुभयो । बैतडी अस्पतालका डा. पविन उपाध्यायले आइतबार बिहान प्रारम्भिक जाँच गर्दा उहाँलाई भाइरल रुघाखोकीको लक्षण देखियो । 

त्यसपछि उहाँलाई सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइयो र धनगढी विमानस्थलमा सैनिक चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेपछि सेनाको स्काइ ट्रकमार्फत काठमाडौं ल्याएर सैनिक अस्पताल छाउनी लगियो । छाउनी अस्पतालका चिकित्सकले ५ दिनको एन्टिबायोटिक दिएर आइतबार राति नै डिस्चार्ज गरे । अहिले उहाँ निवासमै आराम गरिरहनुभएको छ ।

मन्त्री लम्साललाई बैतडीबाट सेनाको होलिकोप्टर र स्काइ ट्रक प्रयोग गरेर आकस्मिक रुपमा उद्धार गरेर काठमाडौं ल्याइएपछि दुईवटा प्रश्न मुख्य रुपमा बहसमा आएका छन् ?

पहिलो प्रश्न : के सुदूरपश्चिममा आधारभूत स्वास्थ्य सेवा नै उपलब्ध छैनन् ?

दोस्रो : पहुँचका व्यक्तिलाई राज्यको लाखौं रकम खर्च गरेर तत्काल उद्धार गर्ने परिपाटीले सर्वसाधारणलाई चाहिँ विभेदपूर्ण व्यवहार गरेको देखिएन र ?

पहिले मन्त्री लम्साललाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको बैतडी जिल्लाको अस्पतालको कुरा गरौं । मन्त्री लम्साल उपचारका लागि बैतडी अस्पताल भने पुग्नु भएको थिएन । अस्पतालका प्रमुख डा. अरबिन्द जोशीका अनुसार डा. पविन उपाध्यायले उहाँलाई होटलमै गएर हेर्नुभएको थियो । तर, जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र उपचार सुविधा भने छ ।

अस्पतालमा तीन जना एमडीजीपी, एक जना हाडजोर्नी रोग विशेषज्ञ, एक जना डेन्टल सर्जन र दुई जना मेडिकल अधिकृत कार्यरत छन्। जिल्ला अस्पतालमा एचडीयू बेड पनि उपलब्ध छ। औसतमा दैनिक डेढ सयले ओपीडीमा उपचार गराउँछन् । प्रयोगशालामा पनि विभिन्न जाँचहरू हुन्छन्।’

बैतडी अस्पतालमात्रै होइन, सेती प्रादेशिक अस्पतालमै औसत दैनिक दुई हजार बिरामीले ओपीडीमा सेवा लिन्छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका डा. चेतराज जोशीका अनुसार सुदूरपश्चिममा स्वास्थ्य सेवाका लागि विगतको जस्तो कहालीलाग्दो अवस्था नभए पनि पर्याप्त छैन ।

स्वास्थ्य सेवा पर्याप्त नभएपछि सुदूर पहाडी जिल्लाका सर्वसाधारणले दैनिक सास्ती भोगिरहेका छन्। सिटामोलजस्तो सामान्य औषधिसमेत सहजै नपाउने र उपचारका लागि घण्टौं हिँड्नुपर्ने अवस्थामा रहेका दुर्गम भेगका नागरिकका लागि स्वास्थ्य सेवा अझै पहुँचभन्दा टाढा छ। स्वास्थ्य संस्था पर्याप्त छैनन्, भएका स्वास्थ्य संस्थामा पनि जनशक्ति र उपकरण पर्याप्त छैनन् ।

बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ मुक्तिकोटस्थित सामुदायिक स्वास्थ्य इकाई खोलीकोटमा सिटामोलकै अभाव भइरहन्छ। इकाई प्रमुख बिर्ज विक भन्नुहुन्छ- हरदिन हर बिरामीलाई जोगाएर कम मात्रामा दिने गरेका छौं, १० चक्की दिनुपर्नेलाई पाँच चक्की दिने गरेका छौं । सधैं यस्तै समस्या हो।’ 

इकाईबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने नियम भए पनि बढीमा ५० प्रकारका औषधि मात्र रहेको उहाँको भनाइ छ । औषधि अभाव मात्रै होइन, स्वास्थ्य संस्था पुग्नै नसक्ने अवस्थासमेत छ। स्वास्थ्य कार्यालय बाजुराका अनुसार गत साउन महिनामा बाजुरामा चार जना आमाले बाटोमै बच्चा जन्माए। 

कतिको त ज्यानै जाने घटना भइरहेका हुन्छन् । सुदूरपश्चिमकै अर्को पहाडी जिल्ला बझाङमा गत वर्षको असार १६ मा केदारस्युँ गाउँपालिका–१ स्थित डुँडिल गाउँकी सुत्केरी व्यथा लागेकी २१ वर्षीया सविता बोहरालाई एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा आमा–शिशु दुवैको ज्यान गयो। 

घरबाट प्राथमिक स्वास्थ्य केन्द्र पुग्न एम्बुलेन्स भएको भए आधा घण्टा र हिँडाएर डेढ घण्टा लाग्ने दूरी छ । सुदूरपश्चिमका ग्रामीण भेगमा एक चक्की सिटामोल मात्रै होइन, स्वास्थ्य उपचार र औषधि पाउन धौ–धौ छ।

सिटामोलजस्तो सामान्य औषधिसमेत सहजै नपाउने र उपचारका लागि घण्टौं हिँड्नुपर्ने अवस्थामा रहेका दुर्गम भेगका नागरिकका लागि स्वास्थ्य सेवा अझै पहुँचभन्दा टाढा छ। औषधि उपचारको अभावदेखि समयमै एम्बुलेन्स नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थासम्मका यी घटनाले राज्यको स्वास्थ्य सेवा र त्यसको पहुँचबीचको ठूलो खाडल देखाइरहेको छ। 

तर, राज्यका उच्च पदस्थका लागि भने तत्काल उद्धार र उपचारको व्यवस्था कसरी हुन्छ भन्ने आइतबार मन्त्री लम्सालको घटनाले देखाएको स्थानीयको भनाइ छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बम पनि प्रदेशमा अस्पताललगायतका स्वास्थ्य संस्था पर्याप्त नभएको, भएका स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण अपुग रहेको स्वीकार्नुहुन्छ । 

धनगढीमा भने केहीबाहेक लगभग सबै रोगको निदान हुने गरेको उहाँको भनाइ छ । अहिलेको अवस्थामा धनगढीमै एमडी, डीएम, एमसीएचलगायत विभिन्न बिधामा विशेषज्ञता हासिल गरेका विशेषज्ञ चिकित्सक सरकारी अस्पतालमै पनि उपलब्ध रहेको र सरकारले नै छात्रवृत्तिमा पठाएका विशेषज्ञ चिकित्सकहरू सबै जिल्लामा कार्यरत रहेको उहाँको भनाइ छ ।

धनगढीबाट अर्जुन शाह र काठमाडौंबाट कृपाल गाैतमकाे रिपार्ट


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।