
काठमाडौं । नेपालमा पब्जीको बढ्दो क्रेजलाई गत आइतबार सम्पन्न पीएमएनसी साउथ एसिया फलले फेरि एकपटक प्रमाणित गरेको छ ।
दक्षिण एसियाली स्तरको च्याम्पियनसिपबाट १६ टिमममध्ये नेपालका तीन टिम ग्लोबल ओपन सिजन टूका लागि छनोट भए । नेपालका टीटुके, एचएलएक्स र टिजीबीले ग्लोबल ओपनमा स्थान बनाउँदै प्राकृतिक विपत्तिमा रहेको नेपाललाई सानो भए पनि खुसीको खबर दिएका छन् ।
यी टिमले विश्व च्याम्पियनसिप पुग्ने अर्को खुड्किला पार गरेका हुन् । दक्षिण एसियाको पब्जी नेसनल च्याम्पियनसिपमा पाँच देशका २४ टिम सहभागी भएकोमा नेपालका तीन टिम शीर्ष स्थानमा रहँदै ग्लोबल ओपनमा पुगेका छन् ।

ट्रेन्ड टू किल अर्थात् टीटुके सर्वाधिक एक सय ११ अंकसहित च्याम्पियन बनेर अर्को चरणमा पुग्दा उसको अनुशासन र गन पावर अब्बल रह्याे । फाइनलमा उसले ७० इलिमिनेसन र ४१ पोजिसन अंक जोडेको थियो । टिमका पुराना खेलाडीसँगै सोनम गुरुङजस्ता नयाँ र प्रतिभावान खेलाडीको उपस्थितिले टिमभित्र च्याम्पियनको भावना पैदा भयो । तर, यो टिमको लक्ष्य यतिमै सीमित छैन ।
ग्लोबल च्याम्पियनसिपमा पुग्ने लक्ष्य यी खेलाडीको छ। प्रतियोगितामा दोस्रो भएको हिडन लिफ इस्पोट्स- एचएलएक्स, तेस्रो स्थानको दि गेमिङ ब्रोस्किस टिजीबी, चौथो स्थानको रोयल ड्रागन र पाँचौं स्थानको एबरप्ट स्लेयरबीच पेचिलो प्रतिस्पर्धा भएको थियो ।
अन्तिम अवस्थामा एबरप्टले आफूलाई सम्हाल्न नसक्दा ऊ ब्रोस्किसभन्दा चार अंकले पछि पर्यो र बाहिरियो । टिजीबीले ८६ अंक जोड्दा रोयल डायमन्डको ८४ अंक रह्यो भने एबरप्ट ८२ अंक बनाएर बाहिरिएको थियो । यदि उसले चिकन डिनर गर्न सकेको भए अर्को चरणका लागि छनोट हुने अवस्था थियो ।

फाइनलको १० खेलमध्ये अन्तिम खेलको अन्तिम केही मिनेटमा यस्तो अवस्था आउँदा तेस्रो स्थानका लागि पेचिलो फाइट भयो । अन्ततः द गेमिङ ब्रोस्किसले आफूलाई तेस्रो स्थानमा राख्न सफल भयो । यता एचएलएक्सले मनमैजुमा बुट क्याम्प बनाएर प्रतियोगिता खेलिरहेको थियो ।
उसको मुख्य प्रतिस्पर्धा रोयल डायमन्डसँग थियो । नवौं खेलमा विजेता बनेपछि नै उसको क्वालिफिकेसन लगभग पक्का भएको हो । छनोट भएको त्यो पल अविस्मरणीय रहेको खेलाडी बताउँछन् । एचएलएक्सभित्र रहेका खेलाडी निकै अनुभवी छन् भने टिमको बोन्डिङ पनि राम्रो छ ।

दिपेश गुरुङ डेल्टा, रिग्देन बज्रचार्य रिग र सुलभ गुरुङ टिक्सले लामो समयदेखि एकै टिममा खेलिरहेका छन् । त्यसमा अनमोल शाही प्रेसियसले अट्याकको जिम्मेवारी सम्हालेपछि टिमको कम्बिनेसन पनि राम्रो भयो । उनीहरु आफ्नो गनपावर र अनुभवका कारण नै उपविजेता हुन सफल भएको बताउँछन् । टिमका रुपमा एचएलएक्सलाई एकपटक ग्लोबल च्याम्पियनसिपमा पुर्याउन यी खेलाडीले लगातार मिहिनेत गरिरहेका छन् ।
पब्जीको ग्लोबल ओपन साउथ एसिया फल अब नेपालमै अफलाइन आयोजना हुँदैछ । जहाँ सहभागी १६ मध्ये नेपालबाट चार टिम हुनेछन् । यो प्रतियोगिताबाट तीन टिम मुख्य प्रतियोगितामा प्रवेश गर्नेछन् । र, नेपालमै आयोजना हुने प्रतियोगिताबाट नेपाली टिम ग्लोबल ओपनमा पुग्ने दाउमा छन् । तर, पाकिस्तानको फोथ्राइभ नेपाली टिमका लागि सबैभन्दा ठूलो प्रतिद्वन्द्वी रहनेछ ।

बंगलादेशको टिमलाई हराउने योजना बनाएका नेपाली टिमको मुख्य प्रतिद्वन्द्वी पाकिस्तानको फोथ्राइभ हुनेछ । यद्दपि नेपाली टिमले अन्य पाकिस्तानी टोलीबाट भने ठूलो चुनौतीको अनुमान गरेका छैनन् ।