सल्यान जिल्ला अस्पतालमा एक सातादेखि बन्द रहेको शल्यक्रिया सेवा पुनः सुरू

वैशाख ८, २०८३ |सरिता चलाउने
सल्यान जिल्ला अस्पतालमा एक सातादेखि बन्द रहेको शल्यक्रिया सेवा पुनः सुरू

सल्यान । सल्यान जिल्ला अस्पतालमा एक सातादेखि बन्द रहेको शल्यक्रिया सेवा पुनः सुचारु भएको छ। 

डाक्टर अभावका कारण रोकिएको सेवा मंगलबारबाट सञ्चालनमा आएको हो। अस्पतालमा आवश्यक जनशक्ति नहुँदा सेवा अवरुद्ध भएपछि यस विषयमा टेलिभिजनमार्फत समाचार प्रसारण गरिएको थियो। 

त्यसपछि पहलस्वरूप एनएसआईबाट आस्बा तालिम प्राप्त मेडिकल अफिसर उपलब्ध गराइएपछि सिजेरियन सेवा पुनः सुरु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार सामाजिक विकास मन्त्रालयले पनि स्त्री तथा प्रसूति रोग विशेषज्ञको काज सरूवा गरेर जिल्ला अस्पतालमा पठाउने निर्णय गरेको छ । योसँगै अस्पतालमा सेवा प्रवाह सहज बन्ने अपेक्षा गरिएको छ। 

अस्पताल प्रशासनका अनुसार अब शल्यक्रिया सेवा नियमित रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ भने बिरामीलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक जनशक्ति व्यवस्थापनमा समेत जोड दिइएको छ।

सम्बन्धित समाचार :

सल्यान जिल्ला अस्पतालमा शल्यक्रिया सेवा ठप्प, सुत्केरीसहित बिरामी मारमा


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।