
सल्यान । सरकारले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिने प्रतिबद्धता दोहोर्याइरहेको छ।
जिल्ला अस्पतालको स्तरवृद्धि गर्ने र विशेषज्ञ सेवा विस्तार गर्ने भनिए पनि, सल्यानमा भने अवस्था उल्टो छ । यहाँ एक सातादेखि शल्यक्रिया सेवा नै बन्द भएको छ । यो समस्या एक पटक मात्र होइन पटक पटक दोहोरिने गरेको छ ।
अहिले शल्यक्रिया सेवा बन्द हुँदा सुत्केरी हुन आउने महिला बढी समस्यामा परेका छन् । जिल्ला अस्पताल सल्यानमा दैनिक सय देखि २ सय बिरामी उपचारका लागि आउने गर्छन्। तर, अस्पतालको शल्यक्रिया सेवा एक सातादेखि ठप्प छ।
चिकित्सक अभावका कारण गत चैत २८ देखि शल्यक्रिया सेवा बन्द हुँदा प्रसुती सेवा लिने महिला र अन्य शल्यक्रिया गर्नुपर्ने बिरामी सबैभन्दा बढी मारमा परेका छन्। नजिकै निःशुल्क वा न्यून शुल्कमा पाइने सेवा बन्द भएपछि बिरामीहरु अहिले दाङ, नेपालगञ्ज र सुर्खेत पुग्न बाध्य छन्।
ग्रामीण क्षेत्रबाट रिफर भएर आएका गर्भवती महिलाहरु अझ बढी प्रभावित छन् । जिल्ला अस्पतालमै सेवा नपाउँदा, उनीहरूले आर्थिक भारसहित थप सास्ती भोगिरहेका छन् । डेढ दशकअघि सुरु गरिएको शल्यक्रिया सेवा अहिले चिकित्सक अभावमै रोकिएको छ ।
जिल्ला अस्पतालमा महिनामा एक सय भन्दा बढि प्रसुती सेवा लिन आउँछन, त्यसमध्ये २० देखि २५ जना सम्मलाई शल्यक्रिया आवश्यक पर्ने गर्छ । तर, अहिले उनीहरूलाई अन्य जिल्लामा पठाउनु पर्ने बाध्यता बनेको छ । २०४४ सालमा स्थापना भएको यो अस्पताल ४० भन्दा बढी बेडसहित सेवा दिँदै आएको छ ।
तर, दक्ष जनशक्तिको अभावले समस्या दोहोरिरहेकै छ। यो समस्या पटक पटक दोहोरिने गरेको छ । यसको प्रत्यक्ष असर विपन्न नागरिकलाई पर्ने गरेको छ। चिकित्सक र जनशक्ति अभाव भएपछि अस्पतालले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई गुहारिरहेको छ ।
ग्रामीण क्षेत्रका नागरिकलाई जिल्ला अस्पताल नै सबैभन्दा नजिक र सुलभ उपचार सेवाको केन्द्र हो । सरकारले स्वास्थ्य सेवा सुधारको कुरा गरिरहँदा सल्यानमा भने आधारभूत सेवा नै अवरुद्ध भएको छ । समयै समस्या समाधानतर्फ सरकारी निकायले चासो नदेखाए यसको प्रत्यक्ष मार सर्वसाधारणले भोग्नु पर्छ ।