प्यूठान अस्पतालमा औषधि अभाव

चैत्र ११, २०८२ |शमशेरविक्रम जीसी
प्यूठान अस्पतालमा औषधि अभाव

प्यूठान । प्यूठान अस्पतालमा रोल्पा, अर्घाखाँची र गुल्मीका बिरामीले समेत सेवा लिँदैआएका छन्। 

दैनिक सयौं बिरामी उपचारका लागि आउने यो अस्पतालमा चालु आर्थिक वर्षको हालसम्म पनि औषधि नआउँदा बिरामी निजी औषधि पसलमा महङ्गोमा औषधि किन्न बाध्य छन्। सरकारले निःशुल्क वितरण गर्ने ९८ प्रकारका औषधि सहजरूपमा उपलब्ध नहुँदा बिरामीले महङ्गो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

प्यूठानसँगै छिमेकी जिल्लाका बिरामीको चाप हुने प्यूठानमा अस्पतालमा सिटामोलसमेत नहुँदा बिरामीले सास्ती भोगिरहेका छन्। चालु आर्थिक वर्षको ८ महिना बितिसक्दा समेत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले औषधि नपठाउँदा जिल्ला अस्पतालमा पनि सिटामोलसहित अन्य अत्यावश्यक औषधि अभाव छ। 

जसले गर्दा विपन्न वर्गका बिरामी धेरै मारमा परेका छन् । सरकारी अस्पतालमा उपचार गरेपनि औषधिका लागि भने निजी मेडिकलमा जानुपर्ने उनीहरूको बाध्यता छ। ९८ प्रकारका औषधि अस्पतालमा निःशुल्क रूपमा पाइने व्यवस्था भए पनि अस्पतालमा सामान्य सिटामोलसमेत उपलब्ध छैन।

लुम्बिनी प्रदेश सरकार अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले औषधी खरिद गरेर नपठाउँदा जिल्लामा रहेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । अस्पतालको फार्मेसीमा औषधि नहुँदा बिरामीलाई निजी क्लिनिकबाटै व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी नै स्वीकार्छन् ।

प्रदेश सरकारले समयमै औषधि नपठाउने समस्याले स्थानीय तहहरूले पनि आफू मातहतका स्वास्थ्य संस्थामा आफैं औषधि खरिद गरेर वितरण गर्न थालेका छन् । निःशुल्क प्राप्त हुने औषधिको अधिकार सूची स्पष्ट भए पनि माथिल्ला सरकारबाट समयमै औषधि उपलब्ध नहुने पुरानै समस्या भएको उनीहरूको गुनासो छ ।

सरकारले समयमै निःशुल्क औषधि उपलब्ध नगराउँदा त्यसको प्रत्यक्ष मारमा आर्थिक अवस्था कमजोर भएका बिरामीहरू परेका छन्।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।