किनमेलपछि बिल नफाल्नुस्, लाखौँ जित्ने अवसर छ

श्रावण ५, २०८३ |कृपाल गौतम
किनमेलपछि बिल नफाल्नुस्, लाखौँ जित्ने अवसर छ

काठमाडौं । पसलबाट सामान किन्दा बिल लिने बानी छ कि छैन ? छैन भने सुधारिहाल्नुस् । 

किनकि रातारात लखपति बन्ने सपना पूरा हुनसक्छ । अब तपाईँले १ सय रुपैयाँभन्दा बढीको सामान किन्दा बिल लिनुभयो भने तपाईँ सरकारको चिट्ठा योजनाअन्तर्गत लखपति बन्न सक्नुहुन्छ । बजारमा वस्तु तथा सेवा खरिद-बिक्री गर्दा बिल दिने र लिने संस्कृतिको विकास गर्न तथा वास्तविक कारोबारको अभिलेख राख्न प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यो वर्षको बजेटमार्फत यो कार्यक्रम सुरु गर्न लागेको हो । 

कस्तो हो त लखपति बन्ने योजना ?

सामान किन्दा बिल माग्ने बानीले तपाईँलाई अब लखपति बनाउनसक्छ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ लागू गरेसँगै अब एक‍पटकमा १ सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा स्वचालित प्रणालीबाट छनोट हुने दैनिक विजेताले १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ पाउनेछन् भने १५-१५ दिनमा बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

विभागले प्रत्येक महिनाको १ गते र १६ गते स्वचालित प्रणालीमार्फत लक्की ड्र सार्वजनिक गर्छ । अर्थात् १ देखि १५ गतेसम्म भएका खरिदको नतिजा १६ गते सार्वजनिक हुन्छ भने १६ देखि मसान्तसम्म भएका खरिदको नतिजा १ गते सार्वजनिक हुनेछ । तर, आयकर ऐन बमोजिम उपहार रकममा २५ प्रतिशत आकस्मिक लाभ कर भने कट्टी गरिनेछ ।

तर, सबै बिल भने चिट्ठा कार्यक्रममा योग्य मानिँदैन । व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाका नाममा जारी भएका बिल, टेलिफोन, इन्टरनेट, बिजुली, सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिदका बिलहरू यसमा समावेश हुँदैनन् ।

साथै, स्थायी लेखा नम्बर नलिएका व्यक्ति वा पसलबाट प्राप्त बिल पनि अयोग्य हुनेछन् । एउटा बीजक वा भुक्तानीलाई एक पटकभन्दा बढी कार्यक्रममा सहभागी गराउन पाइने छैन । उपभोक्ताले क्युआर कोड वा अन्य माध्यममार्फत विद्युतीय भुक्तानी गरेमा उक्त कारोबार स्वतः कार्यक्रममा समावेश हुनेछ । 

यदि नगद भुक्तानी गरिएको छ वा अन्य तरिकाले बिल लिइएको छ भने उपभोक्ताले विभागको वेबपोर्टल वा मोबाइल एपमा गई बीजक नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर, बीजक जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, आफ्नो नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने हुन्छ । 

प्रणालीमा प्रविष्ट भएका विवरणहरू स्वचालित रूपमा प्रमाणीकरण भई प्रत्येक योग्य खरिद बापत उपभोक्तालाई एक-एक वटा उपहार टिकट उपलब्ध गराइनेछ । यो योजनाले बिल दिने र लिने संस्कृतिको विकास हुने जानकार बताउँछन् ।

विजेताको नाम आन्तरिक राजस्व विभागको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ भने मेसेज वा इमेलमार्फत विजेतालाई जानकारी दिइनेछ । नतिजा घोषणा भएको १५ दिनभित्र विजेताले सक्कल बिल, आफ्नो सरकारी परिचयपत्र, प्यान नम्बर र बैंक खाताको विवरणसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ । 

पेस गरिएका कागजात जाँचबुझ गरी १० दिनभित्र उपहार रकम सोझै विजेताको बैंक खातामा जम्मा गरिने भनिएको छ । तर, तोकिएको समयभित्र दाबी गर्न नआएमा उक्त उपहार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने प्रावधान राखिएको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।