धान रोपिसक्दा पनि किसानलाई मल अभावकै तनाव

श्रावण ५, २०८३ |सुदिल पोखरेल
धान रोपिसक्दा पनि किसानलाई मल अभावकै तनाव

काठमाडौं । इरान र अमेरिकाबीचको द्वन्द्वका कारण समयमै मल आयात हुन नसक्नु र आयात भएकै मल पनि स्थानीय तह र प्रदेशले वितरण गर्न नसक्दा धान रोपाइाको मध्य सिजनमा मल अभाव देखिएको छ । 

सरकारको गोदाममा अहिले स्थानीय तथा प्रदेशले वितरणका लागि लैजाने भनेर छुट्याइएको ७४ हजार टन मल गोदाममै छ । २ लाख ४० हजार मेट्रिक टन मल भने नेपाल भित्रने क्रममा रहेको छ । नेपालमा हाल खेतीयोग्य भूमिका आधारमा १७ लाख मेट्रिक टनको हाराहारीमा मल आवश्यक छ । 

प्राङ्गारिक मलको हिस्सा घटाउने हो भने मुलुकमा करिब ८ लाख मेट्रिक टन रासायनिक मल आवश्यक छ । तर, सरकारले अहिलेसम्म ५ लाख ६१ हजार मेट्रिक टन मात्रै आयात गरिसकेको छ । हुनत गत वर्ष यो समयसम्म ४ लाख ५५ हजार मेट्रिक टन मात्रै आयात भएको थियो । 

गत वर्षभन्दा पनि बढी आयात भएको अवस्थामा मौज्दात भने अघिल्लो वर्षभन्दा कम छ । तर, पनि मल नपाएको गुनासो बढिरहेको छ । गोदाममा राखिएको ७४ हजार मेट्रिक टन मल स्थानीय तह र प्रदेशलाई पठाइसकेको भए पनि त्यहाँबाट वितरण हुन नसक्दा कृषकले समयमै मल नपाएको कृषि मन्त्रालयको भनाइ छ ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सुरुमा मलको अनुदानका लागि २८ अर्ब ८२ करोड बजेट छुट्याएकोमा पछि ३४ अर्ब १५ लाख छुट्यायो । ६ लाख मेट्रिक टन ल्याउने लक्ष्य रहेको भए पनि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य तथा आपूर्ति प्रणालीमा देखिएको अवरोधले समयमै आवश्यक मल आउन सकेको छैन । 

आर्थिक वर्ष २०६५/०६६ मा ८ हजार टन मल अनुदानमा आएकामा अहिले ५ लाख ३७ हजार टन वितरण हुँदा पनि नपुग्ने स्थिति आएको र बर्षेनि आंकलन गरेभन्दा बढी मलको मागले समस्या भएको सरकारको भनाइ छ ।

झन्झटिलो खरिद प्रक्रियाले समयमै मल भित्र्याउन नसक्दापनि यस्तो समस्या देखिएको हो । बजेट विनियोजन भएपछि त्यसको खरिद प्रक्रिया अघि बढाएर नेपालमा मल आउन २ सय २५ दिन लाग्ने गरेको छ । जसले गर्दा पनि मलको उपलब्धतामा समस्या देखिएको हो ।

मल अभाव यो वर्षको मात्रै समस्या हैन, यो त बर्षेनि कृषकले झेल्दै आएको समस्या हो । अत्यधिक मागमा भएको वृद्धि, अन्तर्राष्ट्रिय मुलुकमा भएको युद्ध तथा स्वदेशमै उद्योग नहुनु र मागभन्दा कम आयात हुनले पनि यस्तो समस्या देखिएको छ । यस्तो समस्या निराकरणका लागि मन्त्रालय चाहीँ के गर्दैछ त ?

नेपालमा आवश्यक मात्रामा मल आयात नहुँदा भारतबाट लुकिछिपी आयात हुने गरेको थियो । जसले यहाँको माग धानेको थियो । तर, अहिले भारतले सिमामा कडाइ गरेकाले पनि मल अभावको समस्या देखिएको हो ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।