रक्तअल्पताले मधेशका महिलामा बढायो स्वास्थ्य संकट

श्रावण ५, २०८३ |अनिल मिश्र
रक्तअल्पताले मधेशका महिलामा बढायो स्वास्थ्य संकट

धनुषा । नेपालमा रक्तअल्पताका कारण धेरै महिलाहरू जोखिमपूर्ण जीवन बिताइरहेका छन् । 

अन्य प्रदेशको तुलनामा मधेशका महिलाहरूमा यो समस्या अझ भयावह छ । मधेशका ५२ प्रतिशत महिला रक्तअल्पताबाट पीडित छन्, जबकि कर्णालीमा यो दर सबैभन्दा कम २१ प्रतिशत मात्र छ।

शरीरमा रातो रक्तकोष वा हेमोग्लोबिनको मात्रा आवश्यकभन्दा कम हुनु नै रक्तअल्पता हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुरुषमा १४ र महिलामा १३ प्वाइन्ट हेमोग्लोबिन हुनुपर्छ। तर, नेपालमा विशेष गरी मधेश प्रदेशका महिलामा यो समस्या निकै भयावह बनेको छ। 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्कअनुसार मधेशका ५२ दशमलव ४ प्रतिशत महिला रक्तअल्पताबाट पीडित छन्। यो देशकै सबैभन्दा उच्च दर हो, जबकि लुम्बिनीमा ४४ दशमलव ४ प्रतिशत र कर्णालीका महिलामा सबैभन्दा कम २१ दशमलव २ प्रतिशत मात्र यो समस्या छ। 

मधेशमा परीक्षणका क्रममा झन्डै ६० प्रतिशत गर्भवती महिलामा रक्तअल्पता भेटिनुले स्थिति कति जोखिमपूर्ण छ भन्ने प्रष्ट पार्छ। भारतीय सीमानासँग जोडिएको मधेश प्रदेशका आठै जिल्लामा शिक्षा, स्वास्थ्य र जनचेतनाको स्तर अहिले पनि पछाडि नै छ।

दिसापिसाब, नाक, आन्द्रा, महिनावारी वा ठूलो घाउचोटका कारण रातो रक्तकोष बगेर जाँदा शरीरमा रगतको कमी हुन्छ। धेरैपटक गर्भपतन हुनु वा प्रसूतीको क्रममा बगेको रगत पूर्ति हुन नसक्दा यो समस्या बल्झिन्छ। रक्तअल्पताको समयमै निदान भएन भने थकाइ लाग्ने, डिप्रेसन हुने, हातखुट्टा सुन्निने, अनुहार र आँखा पहेँलो देखिने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने र मुटुको धड्कन बढ्नेजस्ता गम्भीर जटिलताहरू देखा पर्छन्। 

यो समस्या प्रजनन् उमेर अर्थात् १५ देखि ४९ वर्षका महिला र पाँच वर्षमुनिका बालिकामा बढी देखिएको छ। गर्भावस्था तथा प्रसूतीपछि पोषणयुक्त आहारको कमी हुनु, उपलब्ध खानेकुरालाई पनि सन्तुलित ढंगले नखानु, जनचेतना अभाव, स्वास्थ्य संस्थाले निःशुल्क उपलब्ध गराएको आइरन चक्कीसमेत सेवन नगर्नु नै मधेशमा रक्तअल्पताको मुख्य कारण देखिएको छ। 

यसले सरकारको जनस्वास्थ्य सुधार लक्ष्यलाई ठूलो चुनौती दिएको छ। हरियो सागसब्जी, गेडागुडी, दाल, माछामासु र अण्डाजस्ता प्रोटिन तथा आइरनयुक्त आहार नियमित खाँदा रक्तअल्पताबाट बच्न सकिन्छ । भोजनमा आइरन सोस्न मद्दत गर्ने भिटामिन सीयुक्त कागती, सुन्तलाजस्ता फलफूल समावेश गर्नुपर्छ भने चिया-कफी कम गर्नुपर्छ। 

साथै, स्वास्थ्य संस्थामा बेलाबेलामा रगत परीक्षण गराइ आवश्यक परेमा चिकित्सकको सल्लाहमा आइरन र भिटामिन नियमित खानु नै यसको सही समाधान हो। सुगम भूगोल, स्वास्थ्य संस्था र सडकको पहुँच भए पनि जनचेतना अभाव र पोषण स्वास्थ्यमा ध्यान नदिँदा मधेशका आधाभन्दा बढी महिला रक्तअल्पताको शिकार बनेका छन्। 

सरकारका जनस्वास्थ्य लक्ष्यहरू हासिल गर्न र मातृ मृत्युदर घटाउन अब सामुदायिक सचेतनाका कार्यक्रम बढाउनुपर्ने देखिन्छ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।