खानेपानीमा फिकल कोलिफर्म, चिकित्सक भन्छन्- उमालेर मात्र पिउनुहोस्

असार २९, २०८३ |कृपाल गौतम
खानेपानीमा फिकल कोलिफर्म, चिकित्सक भन्छन्- उमालेर मात्र पिउनुहोस्

काठमाडौं । तपाईं पानी कसरी पिउनुहुन्छ ? 

यदि नउमाली वा शुद्धीकरण नगरी जथाभावी रुपमा पिउनुहुन्छ भने सावधानी अपनाउनुहोला । बर्खाको समयमा यसै त पानीका स्रोत प्रदूषित हुन्छन्, त्यसमाथि देशका विभिन्न स्थानमा गरिएका नमुना परीक्षणमा पानीमा झाडापखाला, हैजा, टाइफाइड लगायतका संक्रमण गराउन सक्ने जिवाणु भेटिएका छन् । 

तीन महिनाको अवधिमा ७७ वटै जिल्लाका एक हजारभन्दा बढी पानीका स्रोतहरुको परीक्षण गर्दा ३० प्रतिशत पानीमा फिकल कोलिफर्म नामक जिवाणु भेटिएको सरकारी तथ्यांक छ । पछिल्लो एक महिनामा मात्रै झाडापखालाका तीन हजार बिरामी भेटिएका छन् । 

जोखिम झन् बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ढुगेंधारा, बोरिङ्ग गरिएको पानी, घरमा वितरण गरिएको धारा, मुहानलगायत ५५ वटा स्रोतबाट पानीको नमुना संकलन गरी परीक्षण गर्दा १४ वटामा फिकल इकोलाइ भेटिएको छ, जुन झाडापखाला, हैजा, टाइफाइडलगायतका संक्रमण गराउन सक्ने सुक्ष्म जिवाणु हो । 

कागेश्वरी मनोहरा, चन्द्रागिरि, टोखा, दक्षिणकाली तथा किर्तिपुरका नमुनाहरुमा इकोलाइ देखिएको हो । काठमाडौंमा मात्र हैन देशका विभिन्न स्थानमा समेत पानीमा संक्रमण गराउने जिवाणु भेटिएको छ । तीन महिनाको अवधिमा ७७ वटै जिल्लाका एक हजारभन्दा बढी पानीका स्रोतहरुको परीक्षण गर्दा ३० प्रतिशत पानीमा फिकल कोलिफर्म भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

यो मानिस वा जनावरको दिसामा पाइने व्यक्टेरिया हो । नेपालमा विगत एक महिना अवधिमा मात्र तीन हजारभन्दा बढीमा झाडापखालाको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले बर्खाको बेला पानीको स्रोत प्रदूषित हुने भएकाले जथाभावी रुपमा पिउँदा झाडापखाला, हैजा, टाइफाइडलगायत संक्रमणको जोखिम हुने गर्छ। 

सोही कारण पानी राम्ररी उमालेर वा शुद्ध गरेमा मात्र पिउन चिकित्सकको सुझाव छ । काँचै खाने तरकारी वा फलफूलसमेत शुद्ध पानीले मात्र पखालेर सेवन गर्न उनीहरुले आग्रह गरेका छन् । प्रदूषित पानीका कारण बर्खाका बेला बर्सेनि हैजा, झाडापखालालगायतका समस्या देखिने गर्छन् । 

गत वर्ष देशभर १९ सय ३८ जनामा हैजा देखिएको थियो भने वीरगञ्जमा फैलिएको हैजाको संक्रमणबाट १५ सय ९५ जना प्रभावित भएका थिए ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।