विश्वकप २०२६ : दिग्गजको बिदाइ, नयाँ पुस्ताको उदय

श्रावण ५, २०८३ |अभय बस्नेत
विश्वकप २०२६ : दिग्गजको बिदाइ, नयाँ पुस्ताको उदय

काठमाडौं । भर्खरै सम्पन्न २०२६ फिफा विश्वकप केवल एक नयाँ विश्वविजेताको उदयमा मात्र सीमित रहेन । 

उत्तर अमेरिकाका रंगशालाहरूले यसपटक एउटा यस्तो इतिहास लेखे, जहाँ फुटबलका कयौं लेजेन्डहरुले मैदानबाट बिदाइ लिए । दशकौंदेखि विश्व फुटबलमा राज गरेका खेलाडीदेखि कयौं सफल प्रशिक्षकहरूले यसै विश्वकपमार्फत अन्तर्राष्ट्रिय फुटबललाई बिदाइ गरेका छन् । 

आजको विश्वकप विशेषमा हामी चर्चा गर्दैछौं ती अनुहारहरूको, जसलाई अब हामीले कहिल्यै आफ्नो देशको जर्सीमा र टचलाईनलमा देख्न पाउने छैनौं । 

हरेक विश्वकपले नयाँ कथा लेख्छ र नयाँ नायक जन्माउँछ, तर उत्तर अमेरिकामा सम्पन्न २०२६ को यो फुटबलको महाकुम्भ केवल एक नयाँ च्याम्पियनको उदयमा मात्र सीमित रहेन । 

यो विश्व फुटबलको एउटा सिङ्गो स्वर्णिम युगको अन्त्य र दर्जनौं दिग्गज खेल जीवनको बिदाइको साक्षी पनि बन्यो । ब्राजिलका फुटबल स्टार नेयमारले १६ वर्षको आफ्नो अन्तर्राष्ट्रिय यात्रा मेटलाइफ स्टेडियममा आँसुका साथ टुंग्याए, जहाँ उनले सन् २०१० मा अमेरिकाविरुद्ध पहिलो खेल खेलेका थिए । 

३४ वर्षका यी फरवार्ड १ सय ३० खेलमा ८० गोल गर्दै ब्राजिलका लागि पेलेको कीर्तिमान तोडेर सर्वकालीन महान् गोलकर्ताका रूपमा अन्तर्राष्ट्रिय मैदानबाट बिदा भएका छन् । जर्मनीका म्यानुएल नोयरले पनि ४० वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट दोस्रो पटक सन्यासको घोषणा गरे, जसले सन् २०१४ को विश्वकप विजेता टोलीको जर्मनीसँगको अन्तिम खेलाडीलाई पनि विश्राम दिएको छ । 

नोयर १ सय २८ क्यापका साथ जर्मनीको इतिहासमा पाँचौं धेरै खेल खेल्ने खेलाडीका रूपमा बिदा भए । त्यसैगरी मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआले ४० वर्षको उमेरमा ६ वटा विश्वकप खेल्ने दुर्लभ कीर्तिमान र १ सय ५३ क्यापका साथ मेक्सिकन फुटबलको एउटा स्वर्णिम कालखण्ड विसर्जन गरे । 

स्पेनका २७ वर्षीय लेफ्ट-ब्याक मार्क कुकुरेलाले भने युरोकप र विश्वकप दुवैको उपाधि जितेर आफ्नो अन्तर्राष्ट्रिय यात्राको सुखद अन्त्य गर्ने निर्णय लिए । अल्जेरियाका रियाद महरेजले ३५ वर्षको उमेरमा एक सय २० क्याप र ४० गोलका साथ तथा चेक रिपब्लिकका प्याट्रिक शिकले ३० वर्षको उमेरमा आफ्नो १० वर्षे यात्रा टुंग्याउँदै अन्तर्राष्ट्रिय फुटबललाई बिदाइ गरे ।

यो विश्वकप खेलाडीको मात्र नभइ प्रशिक्षकहरूमा पनि ठूलो उथलपुथलको कारक बन्यो, जहाँ प्रतियोगितापछि १७ जना मुख्य प्रशिक्षकले पद छोडेका छन् । जर्मनीका जुलियन नागेल्सम्यानले पाराग्वेसँगको अप्रत्यासित हारपछि पद त्याग गरे भने पोर्चुगलका रोबर्टो मार्टिनेजले तीन वर्षे कार्यकाल टुंग्याउँदै जोर्गे जिससका लागि बाटो खुल्ला गरिदिए । 

क्रोएसियाका ज्लाट्को डालिचले ९ वर्षको ऐतिहासिक र सफल कार्यकालपछि बिदाइ लिए, जुन अवधिमा उनले क्रोएसियालाई विश्वकपको उपविजेता र तेस्रो स्थानसम्म पुर्‍याएका थिए । नेदरल्यान्ड्सका रोनाल्ड कोम्यानले मोरक्कोसँगको हार र पारिवारिक स्वास्थ्य समस्याका कारण राजीनामा दिए भने फ्रान्सका डिदिएर डेसच्याम्प्सले १४ वर्षको लामो र गौरवशाली कार्यकालपछि पद त्याग गरेका छन् । 

उरुग्वेका मार्सेलो बिएल्सा, स्कटल्यान्डका स्टिभ क्लार्क, दक्षिण कोरियाका होङ म्युङ-बो, घानाका कार्लोस क्विरोज र बेल्जियममा १८ महिना बिताएका रुडी गार्सियाले पनि आ आफ्नो टोलीको निराशाजनक प्रदर्शनपछि मैदान छोड्ने निर्णय गरे ।

२०२६ को यो विश्वकपले विशेषगरी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको दुई दशक लामो प्रभुत्वलाई आधिकारिक रूपमा इतिहासको पानामा सीमित गरिदिएको छ । ४१ वर्षका रोनाल्डोले ६ वटा फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्दै आफ्नो विश्वकप यात्रा सकिएको पुष्टि गरे भने मेस्सीले पनि आफ्नो अन्तिम विश्वकप खेलिसकेको संकेत दिएका छन् । 

यो बिदाइ सन् २००६ मा जिदानको युगको अन्त्य वा २०१४ मा स्पेन र जर्मनीको स्वर्णिम पुस्ताको बदलाव जस्तै ऐतिहासिक छ, तर यस पटकको ट्रान्जिसन अझ गहिरो देखिएको छ । दिग्गजहरू ओझेल पर्दै गर्दा स्पेनका लामिन यमाल र पाउ कुबार्सी जस्ता नयाँ स्टारहरू चम्किएका छन्, जसले विश्वकप फाइनल खेल्ने सबैभन्दा कम उमेर मध्यका खेलाडी बनेर इतिहास रचेका छन् । 

यमाल र मेस्सीको सन् २००७ को त्यो प्रसिद्ध फोटो, जहाँ मेस्सीले यमललाई नुहाइरहेका छन्, आज फुटबल एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएको प्रतीक बनेको छ । कीर्तिमानका हिसाबले पनि यो विश्वकप अतुलनीय रह्यो, जहाँ रोनाल्डो र मेस्सीले २२ वर्षको सबैभन्दा लामो अन्तर्राष्ट्रिय करियर पूरा गरे भने ओचोआ ४० वर्ष तीन सय ४६ दिनको उमेरमा विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका मेक्सिकन खेलाडी बने । 

फुटबलको संसारमा ट्रफीहरू फेरि पनि जित्न सकिन्छ, पुराना रेकर्ड फेरि पनि तोडिन सक्छन्, तर यी महान् खेलाडीको स्वर्णिम र अतुलनीय खेल जीवन इतिहासमा विरलै मात्र आउँछ । 


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।