आँधीहुरीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण छिट्टै गरिने : स्वास्थ्यमन्त्री लिम्बू

चैत्र ६, २०८२ |विनोद घिमिरे
आँधीहुरीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण छिट्टै गरिने : स्वास्थ्यमन्त्री लिम्बू

धनकुटा । कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले आँधीहुरीबाट क्षति पुगेका धनकुटास्थित स्वास्थ्य संरचनाको स्थलगत निरीक्षण गर्दै तत्काल पुनर्निर्माण प्रक्रिया अघि बढाइने बताउनुभएकाे छ।

मन्त्री लिम्बूले धनकुटा सदरमुकाममा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा पुगेर हावाहुरीका कारण भएको क्षतिको अनुगमन गर्नुभएकाे हाे । निरीक्षणका क्रममा उहाँले अस्पतालको भौतिक संरचनामा पुगेको क्षति, सेवा प्रवाहमा परेको असर तथा आवश्यक मर्मत–सम्भारको अवस्थाबारे जानकारी लिनुभएका‍े थियाे।

अनुगमनपछि मन्त्री लिम्बूले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरूद्ध हुन नदिने बताउँदै तत्काल अस्थायी व्यवस्थापन गरेर सेवा सञ्चालनलाई निरन्तरता दिन निर्देशन दिनुभयाे । साथै उहाँले क्षतिग्रस्त भवन तथा संरचनाको प्राविधिक मूल्याङ्कन गरी पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न कोशी प्रदेश सरकारले छिट्टै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयाे।

“नागरिकको आधारभूत स्वास्थ्य सेवा प्रभावित हुन दिनु हुँदैन, त्यसैले छिटोभन्दा छिटो मर्मत तथा पुनर्निर्माणको काम सुरू गरिन्छ,” मन्त्री लिम्बूले भन्नुभयाे। उहाँले सम्बन्धित निकायलाई क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल प्रतिवेदन पेस गर्न समेत निर्देशन दिनुभयाे।

अस्पताल प्रमुख डा. विद्या श्रेष्ठले कार्यालय भवन, ओपीडी कक्ष तथा औषधि भण्डारण कक्षमा क्षति पुगेको जानकारी दिनुहुँदै प्रारम्भिक रूपमा करिब १५ लाख रूपैयाँ बराबरको नोक्सानी भएको विवरण मन्त्रीसमक्ष प्रस्तुत गर्नुभयाे। मन्त्री लिम्बूले आवश्यक परे वैकल्पिक संरचनाबाट सेवा सञ्चालन गर्न र दीर्घकालीन रूपमा सुरक्षित तथा मजबुत संरचना निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयाे।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।