काठमाडौं । नेपालमा मिर्गौला रोग ठूलो जनस्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएको छ ।
हरेक वर्ष करिब तीन हजार जनाको मिर्गौला फेल हुने अनुमान गरिँदा उपचार सेवा लिनेको संख्या पनि निरन्तर बढिरहेको छ । अझ मिर्गौला डायलाइसिस र प्रत्यारोपण गराउनेमध्ये ठूलो हिस्सा वैदेशिक रोजगारीबाट फर्किएकाहरू रहेको तथ्याङ्कले देखाएको छ ।
सप्तरीका मोहम्मद सोहरत शेख दुई वर्षदेखि मिर्गौला रोगसँग संघर्ष गरिरहेका छन् । वैदेशिक रोजगारीका क्रममा कतारमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परीक्षणमा उनको मिर्गौला फेल भएको पत्ता लागेको थियो । त्यसपछि उनलाई उपचारका लागि नेपाल पठाइयो ।
अहिले उनी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपणको तयारी गर्दै उपचार गराइरहेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराइरहेका बिरामीमध्ये करिब ३० प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका छन् ।
त्यस्तै प्रत्यारोपण गराएकामध्ये पनि ३० प्रतिशतभन्दा बढी विदेशबाट फर्किएकै छन् । यसले वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा मिर्गौला रोगको समस्या पनि बढिरहेको संकेत गर्छ । विशेषगरी चर्को घाममा धेरै समय काम गर्ने, समयमै पानी नपिउने, पानीको साटो इनर्जी ड्रिंक्सको बढी प्रयोगलगायतका कारण वैदेशिक रोजगारीमा रहने श्रमिकहरुको मिर्गोलामा समस्या आउने गरेको चिकित्सकहरुको भनाइ छ ।
नेपालको कुल जनसंख्यामध्ये करिब १० प्रतिशतमा कुनै न कुनै मिर्गौला सम्बन्धी सानाठूला समस्या रहेको अनुमान छ । तीमध्ये करिब १० प्रतिशतको मिर्गौला फेल हुने अवस्था पुग्ने चिकित्सकहरू बताउँछन् । यस हिसाबले नेपालमा हरेक वर्ष करिब ३ हजार जनाको मिर्गौला फेल हुने अनुमान छ ।
सरकारको तथ्याङ्कअनुसार विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा ८ हजार ८ सय १३ जनाले मिर्गौला उपचार सेवा लिएका थिए भने आर्थिक वर्ष २०८०/८१ मा यो संख्या बढेर ९ हजार ५ सय १६ पुगेको छ । सरकारले मिर्गौला रोगीका लागि उपचार खर्चमा ठूलो रकम खर्च गर्दै आएको छ ।
एक बिरामीका लागि सरकारले करिब साढे ५ लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउने व्यवस्था छ । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा मिर्गौला उपचार, डायलाइसिस, प्रत्यारोपण र औषधि उपचारमा १ अर्ब ६१ करोड ९८ लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा यो रकम बढेर १ अर्ब ९९ करोड ८६ लाख रुपैयाँभन्दा बढी पुगेको छ । सरकारले ८ वटा कडा रोगका बिरामीका लागि गर्ने खर्चमध्ये ५० प्रतिशतभन्दा बढी रकम मिर्गौला रोगीको उपचारमै खर्च हुने गरेको तथ्याङ्क छ । यसले पनि मिर्गौला रोग ठूलो जनस्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएको चिकित्सकको भनाइ छ ।
उता सरकारले मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग झिकेर आवश्यक पर्ने बिरामीलाई प्रत्यारोपण गर्न सकिने कानुन बनाएको एक दशक भइसकेको छ । तर हालसम्म नेपालमा मस्तिष्क मृत्यु भएका जम्मा ९ जनाबाट मात्र १८ वटा मिर्गौला र ५ वटा कलेजो प्रत्यारोपण गरिएको छ । यस्तै सरकारले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने घोषणा गरे पनि हालसम्म त्यो पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।
कान्तिपुर समाचारका लागी क्यामेरामा पशुपति बुढाथोकीका साथ कृपाल गौतम काठमाडौं ।