प्रिमियर लिगमा आज बर्नमथ र म्यान्चेस्टर युनाइटेड भिड्दै

चैत्र ६, २०८२ |खेल ब्युरो
प्रिमियर लिगमा आज बर्नमथ र म्यान्चेस्टर युनाइटेड भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति बर्नमथले म्यान्चेस्टर युनाइटेडलाई स्वागत गर्दै छ । 

भाइटालिटी स्डेडियममा खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरू हुनेछ । युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रिने छ । अन्तरिम प्रशिक्षक माइकल क्यारिकको आगमनसँगै युनाइटेडको प्रदर्शनमा उल्लेखनीय सुधार आएको छ । 

उनले जनवरीमा टोली सम्हालेपछि युनाइटेडले ९ मध्ये ७ खेल जित्दै २२ अंक जोडेको छ । पछिल्लो खेलमा एस्टन भिल्लामाथि ३-१ को सहज जित निकाल्दै टोली अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यदि युनाइटेडले यो खेल जिते शीर्ष चारभित्र आफ्नो पकड अझ बलियो बनाउने छ ।

टोलीका कप्तान ब्रुनो फर्नान्डेस अहिले असाधारण लयमा देखिएका छन् । उनले हालै क्लबका पूर्व स्टार डेभिड बेकहृमको असिस्टको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका थिए । यता बर्नमथ पनि कम खतरनाक छैन । टोली हाल १० खेलदेखि अपराजित छ । यद्यपि, पछिल्ला चार खेल लगातार बराबरीमा सकिँदा टोलीले पूरा अंक जोड्न भने सकेको छैन । जसमा तीन खेल गोलरहित बराबरीमा टुंगिएका थिए ।

बर्नमथले युनाइटेडविरूद्ध पछिल्ला पाँच प्रिमियर लिग भेटमा हार बेहोरेको छैन । विशेषगरी, गत डिसेम्बरमा ओल्ड ट्राफोर्डमा भएको ४-४ को रोमाञ्चक बराबरीले उसको आत्मविश्वास अझ बढाएको छ । यदि यस खेलमा जित निकाल्न सकेमा बर्नमथ अंकतालिकाको आठौं स्थानमा उक्लिने छ र युरोपियन प्रतियोगिताको सम्भावना पनि जीवित रहनेछ ।