हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

चैत्र ४, २०८२ |दीपेन्द्र शाक्य
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

संखुवासभा । संखुवासभाको दुर्गम क्षेत्रमा ज्यान जोखिममा रहेकाे एक सुत्केरी महिलाको बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। 

मकालु गाउँपालिका-१ की २८ वर्षीया सरू राईको अवस्था अचानक गम्भीर बनेपछि हवाई उद्धार गरिएको हो। बुधबार बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियामार्फत प्रसूति सेवा दिइएकी राईको स्वास्थ्य अवस्था उपचारकै क्रममा बिहान १० बजेदेखि एक्कासी बिग्रिएको अस्पतालले जनाएको छ। 

अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था झनै नाजुक बन्दै गएको थियो। थप उपचारका लागि तत्काल विशेषज्ञ उपचार आवश्यक देखिएपछि “दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७७” अनुसार उद्धार प्रक्रिया अघि बढाइएको थियो।

जिल्ला अस्पतालका डा. प्रदीप श्रीवालले समयमै उद्धारको व्यवस्था मिलेकै कारण बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पठाउन सफल भएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुँदा यस्ता आकस्मिक अवस्थामा हवाई उद्धार जीवनरक्षक सावित भइरहेको छ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।