
काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सभापति गगनकुमार थापाले दिनुभएकाे राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका छन् ।
पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्नुभएको हो । बैठकमा बोल्ने बहुमत सदस्यहरूले नैतिकताको आधारमा दिएको राजीनामाको उच्च सम्मान गर्दै अस्वीकृत गर्नुपर्ने धारणा राखेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो ।
प्रवक्ता चालिसेकाअनुसार अधिकांश सदस्यहरूले देशको पछिल्लो परिस्थिति र पार्टी पुनर्निर्माणका लागि थापाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अहिलेको समय परिस्थिति सम्हाल्न तथा पार्टीलाई थप जिम्मेवारीका साथ अघि बढाउने बेला उहाँको भनाइ छ ।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामाको विषयमा बैठकमा छलफल भइरहेको छ । जारी बैठकले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएको जनमतलाई स्वीकार्ने निर्णय गरेको पनि प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।