सिरहा । आँखा अति महत्वपूर्ण र संवेदनशील अंग हो ।
तर, नजिकमा स्वास्थ्य संस्था नहुने र ग्रामीण क्षेत्रमा जनचेतना अभावका कारण पनि आँखाको जाँच नै नगराउने प्रवृत्ति छ । यस्तोमा सिरहाको लहान नगरपालिकाले तीन वर्षदेखि गर्दै आएको निःशुल्क आँखा जाँच र शल्यक्रिया समुदायस्तरमा निकै प्रभावकारी बनेको छ ।
जनचेतना अभावका कारण आँखाको जाँच नै नगराउने प्रवृत्तिको अन्त्य गर्दै नागरिकको आँखा सुरक्षाका लागि लहान नगरपालिकाले विगत तीन वर्षदेखि निःशुल्क आँखा जाँच र शल्यक्रिया अभियान सञ्चालन गर्दै आएको छ, जुन अभियान नगरबासीका लागि वरदान साबित भएको छ ।
नगरपालिकाले लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालसँग सहकार्य गरी यो अभियान चलाउँदै आएको हो । अभियानअन्तर्गत नगरका विभिन्न स्थानमा निःशुल्क आँखा जाँच शिविर चलाइन्छ । आँखा जाँचका क्रममा औषधिले निको हुने बिरामीलाई निःशुल्क रूपमा औषधि, चस्मा आवश्यक पर्नेलाई चस्मा दिइन्छ ।
मोतियाविन्दुलगायतका आँखाका बिरामीलाई भने लहानस्थित अस्पतालमा निःशुल्क शल्यक्रिया गरिन्छ । यसरी आँखा उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै अस्पताललाई व्यहोर्छ । नगरपालिकाले नै बिरामीलाई नगर बसमा निःशुल्करूपमा अस्पतालसम्म ल्याउने-पुर्याउने गर्छ । नगरपालिकाले यस अभियानका लागि प्रत्येक वर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने गर्छ ।
दश हजारसम्म खर्च हुने उपचार सित्तैमा पाएपछि खासगरी विपन्न वर्गलाई ठूलो राहत भएको छ । नगरपालिकाका अनुसार, यो तीन वर्षमा नगरका २४ वटै वडामा गरी ४३ स्थानमा आाखा शिविर गरिएको छ । जसमा ११ हजार ४ सय ३१ जनाको आाखा जाँच भएको छ ।
यसमध्ये २ हजार ४ सय ४५ मा मोतियाविन्दु भेटिएको छ भने १८ सय ४० जनाको शल्यक्रिया गरिसकिएको छ । यस्तै, पाँच हजार ३ सय २१ जनालाई नि:शुल्क औषधि र पाँच सय १३ जनालाई चस्मा प्रदान गरिएको छ । यो अभियानले आँखाप्रति सर्वसाधारणलाई संवेदनशील बनाएको, स्वास्थ्य सचेतना बढाएको र लहानलाई अब छिट्टै मोतियाविन्दुमुक्त नगर घोषणा गर्न लागिएको नगरपालिका बताउँछ ।
अस्पतालका अनुसार, समुदायस्तरमा अत्यन्तै प्रभावकारी बनिरहेको यो अभियान लहानपछि सिरहासहित सप्तरी, उदयपुरलगायतका छिमेकी जिल्लाका विभिन्न स्थानीय तहमा पनि विस्तार भइरहेको छ ।