ताप्लेजुङमा २१६ जनाले पाए आँखाको ज्योति, नि:शुल्क शिविरमा डा.रूइतको परिवारद्वारा सेवा

मंसिर ६, २०८२ |आनन्द गौतम
ताप्लेजुङमा २१६ जनाले पाए आँखाको ज्योति, नि:शुल्क शिविरमा डा.रूइतको परिवारद्वारा सेवा

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा २ सय १६ जनाले आँखाको नयाँ ज्योती पाएका छन् । 

नेपाल नेत्र ज्योती संघ ताप्लेजुङको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालित तीन दिने नि:शुल्क शिविरमा आँखाका प्रशिद्ध डाक्टर सन्दुक रूइतको परिवारै खटिएका थिए । अघिल्ला शिविरमा विरामी सुताउने ठुलो हललाई यस पटक शल्यक्रिया गर्ने र शल्यक्रिया गर्ने स्थललाई विरामीले आराम गर्ने कक्ष बनाइयो । 

किनकी सधैं एकजना डाक्टरले शल्यक्रिया गर्थे भने यस पटक दुई जना । हलको एकातर्फ बाबु सन्दुक र अर्कोतर्फ छोरा सागर बसे । बाबु सन्दुकले ७९ जनाको मोतिबिन्दुको पर्दा फाल्दा छोरा सागरले १ सय ३० जनाको फालिदिए । दुवैले गरेर ७ जनाको सामान्य शल्यक्रिया भयो । 

शिविर अवधिभर सन्दुक पत्नी तथा सागरकी आमा नन्दा श्रेष्ठ भने विरामीलाई वेडसम्म पुर्याउने, आवश्यक अन्य सामग्री तयार पारिदिने काममा तल्लीन बन्नु भयो । टेलिभिजनको स्क्रिन राखेर गरिएको शल्यक्रियामा त्यही पर्दा हेरेर अब के चाहिन्छ पत्ता लगाउने नन्दा शिविर अवधिभर डाक्टर  द्वयसँगै सक्रिय रहनुभयो ।

सामान्यतया एक पटकमा एउटाको मात्रै गरिन्छ । तर यस पटकको शिविरमा १० जना मोतिबिन्दुका बिरामीको दुवै आँखाको शल्यक्रिया एकै पटक गरिएको थियो । शल्यक्रिया गराउन सदरमुकाम फुङलिङबाट तीन दिनको पैदल दुरीदेखिका सेवाग्राही आएका थिए भने छिमेकी जिल्ला पाँचथर तेहृथुमदेखि काठमाडौंसम्मका सेवाग्राहीले अवसरको उपयोग गरे ।

ताप्लेजुङ, पाँथचर, तेहृथुम जस्ता पहाडबाट आँखाको शल्यक्रिया गर्नुपरे झापा वा इटहरी पुग्नुपर्छ । विरामी र कुरूवासमेत गरी यातायात, आवास र शल्यक्रिया गर्दा हजारौं रूपैंया खर्च हुन्छ । दुर्गमका सेवाग्राहीलाई त्यो झन्झट र खर्चिलो समस्याबाट मुक्त गराउन नेत्रज्योती संघले स्थानीय तहसँगको सहकार्यमा हरेक छ महिनामा जिल्ला सदरमुकाम र गाउँलाई केन्द्रबिन्दु बनाएर शिविर सञ्चालन गर्दै आएको छ । यसबाट सेवाप्रदायक र सेवाग्राही दुवै दंग छन् ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।