
सिरहा । सिरहाको मिर्चैया नगर अस्पतालमा १२ दिनसम्म चलेको आँखा उपचार शिविरमा तीन हजारबढी सर्वसाधारण लाभान्वित भएका छन् ।
तिलगंगा आँखा अस्पताल, काठमाडौंको प्राविधिक सहयोग र मिर्चैया नगरपालिकाको सहकार्यमा भएको यस शिविरमा कुल ३ हजार ३ सय ४९ जनाले आँखाको चेकजाँच गराएका हुन् । जसमध्ये ३२ सय हाराहारी सर्वसाधारणलाई आवश्यक औषधि दिइएको छ ।
यसमध्ये मोतियाविन्दु देखिएका ३ सय १२ जनाको शल्यक्रिया गरिएको छ । यस्तै, ३ सय १७ जनालाई चस्मा प्रदान गरिएको छ । शिविरका क्रममा नाै दिनसम्म बिरामीको चेकजाँच र तीन दिन शल्यक्रिया गरिएको शिविर प्रमुख डा. बन्दना खनालले जानकारी दिनुभयाे । शिविरमा उहाँसहित डा. कृपा जोशी, डा. झरना गुरुङ, डा. रौला, बासुदेव अधिकारीलगायत खटिएका थिए ।
शिविरमा बिरामीहरूलाई आँखा जाँचदेखि औषधि, चस्मा प्रदान र शल्यक्रियालगायत सबैकुरा नि:शुल्क रूपमा गरिएको छ । मिर्चैया नगरपालिकाले शिविर आयोजना गरेको भए पनि अन्य ठाउँका सर्वसाधारणले पनि शिविरमा लाभ लिएको नगर प्रमुख श्रवणकुमार यादवले बताउनुभयाे ।
'यो शिविर मिर्चैया नगरपालिकाले आयोजना गरेको थियो, तर अन्य स्थानीय तहका सर्वसाधारणले पनि शिविरबाट लाभान्वित भए,' उहाँले भन्नुभयाे, 'यसले यस किसिमको शिविरको अझै आवश्यकता छ भन्ने कुरा देखाउँछ, आगामी दिनमा पनि हामीले यसलाई निरन्तरता दिन्छौं ।'