लुम्बिनीमा क्षयरोगका चार हजार बढी बिरामी

चैत्र १०, २०८२ |अमर क्षितिज भण्डारी
लुम्बिनीमा क्षयरोगका चार हजार बढी बिरामी

दाङ । लुम्बिनी प्रदेशका १२ जिल्लामा चार हजार ५०८ क्षयरोगका बिरामी पाइएको छ । 

विश्व क्षयरोग दिवसका अवसरमा लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा आयोजित कार्यक्रममा प्रदेशका १२ जिल्लामा ४ हजारभन्दा बढी बिरामी पाइएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६-०७७ मा प्रति एक लाख जनसंख्यामा १ सय १२ रहेकाे केस सूचनाकरण दर क्रमशः बढ्दै २०७८-०७९ मा १ सय ५८ पुगेको थियो । 

त्यसपछि केही उतारचढावका बीच २०८०-०८१ मा १ सय ६४ पुगेको यो दर २०८१-०८२ मा घटेर १ सय ५१ मा झरेको छ । यसले एकातर्फ परीक्षण र केस पहिचानको दायरा विस्तार भएको देखाए पनि संक्रमण अझै व्यापक रहेको संकेत गरेको छ । क्षयरोग नियन्त्रणतर्फ केही सकारात्मक प्रगति देखिए पनि संक्रमण दर अझै उच्च रहेकाले प्रदेश सरकारका तर्फबाट नियन्त्रणको प्रयास भइरहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्षयरोग नियन्त्रणका लागि स्वास्थ्य संस्थाहरूमा सेवा प्रवाह र निगरानी प्रणालीमा सुधार आएको देखाए पनि मृत्यु दर ३ देखि ४ प्रतिशतको हाराहारीमा स्थिर रहनुले समयमै पहिचान र उपचारमा अझै चुनौती रहेको देखिएको छ । जिल्लागत विवरण अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी टिबी बिरामी रूपन्देहीमा १ हजार १ सय १५ केस दर्ता भएका छन् । 

त्यसपछि दाङमा ७ सय ७८, बाँकेमा ५ सय ७९, कपिलवस्तुमा ५ सय ६२ र बर्दियामा ३ सय ८० केस रहेका छन् । पहाडी जिल्लाहरूमा संख्या कम देखिए पनि सेवा पहुँचको सीमितताका कारण वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।

टिबी र एचआईभी सह-संक्रमणका ३२ केस र एआरटी सेवामा रहेका २० बिरामी फेला परेका छन्, जसले रोग नियन्त्रणमा थप चुनौती सिर्जना गरेको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।