आयुर्वेदिक अस्पतालमा पूर्वाधार र जनशक्ति अभाव

सेवा भरपर्दो नहुँदा बिरामीको छैन आकर्षण
फाल्गुन २, २०८० |सुन्दर शिल्पकार|रमा दाहाल
आयुर्वेदिक अस्पतालमा पूर्वाधार र जनशक्ति अभाव

झापा । नेपालसहित दक्षिण एसियाली मुलुककै मौलिक उपचार पद्धति हो-आयुर्वेद । जस्तोसुकै जटिल रोगको पनि उपचार सम्भव हुने दाबी गरिने आयुर्वेद उपचार पद्धति पछिल्ला केही वर्षयता भने निकै उपेक्षित छ । देशका सबैजसो जिल्लामा जिल्ला स्तरीय र सबै प्रदेशमा प्रादेशिक अस्पताल भए पनि पूर्वाधार, जनशक्ति र औषधि अभावमा तिनले भरपर्दो सेवा दिन सकेका छैनन् ।  

झापा सदरमुकाम चन्द्रगढीस्थित आयुर्वेद उपचार केन्द्रमा दैनिक मुस्किलले ३० जना बिरामी उपचारका लागि आउँछन् । २५ वर्षदेखि उपचार सेवा दिँदै आए पनि यो केन्द्रप्रति सेवाग्राहीले भरोसा गर्न सकेकै छैनन् । 

केन्द्रका अधिकारीहरू भने सीमित जनशक्तिका भरमा एउटै कार्यालयले उपचार र प्रचार दुवै धान्नु परेकाले आयुर्वेदको महत्त्वबारे बुझाउन नसकिएको बताउँछन् । 

भक्तपुरस्थित आयुर्वेद उपचार केन्द्रको हालत पनि उस्तै छ । यहाँ दैनिक सरदर ९० जना बिरामी उपचारका लागि आउँछन् । बजेट अभावकै कारण आयुर्वेद उपचार पद्धतिलाई प्रभावकारी बनाउन नसकिएको केन्द्र प्रमुखको गुनासो छ ।  

सरकारले अहिले देशैभरका आयुर्वेद उपचार केन्द्रमा बजेटसँगै औषधि पनि कटौती गरेको छ । केही वर्ष अघिसम्म ८० प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्ने सरकारले अहिले मुस्किलले २२ प्रकारका औषधि मात्र पठाउन थालेको छ ।

स्वास्थ्य निर्देशनालयका अधिकारीहरू पनि आयुर्वेद चिकित्सालाई अहिलेको अवस्थाबाट माथि उठाउने हो भने नीतिगत रूपमै सुधार गर्नुपर्ने खाँचो औँल्याउँछन् ।

ओझेलमा परेको आयुर्वेदलाई पुनर्जीवन दिने हो भने देशैभरका आयुर्वेद उपचार केन्द्र र औषधालयहरूलाई सक्रिय राख्न सरकारले अग्रसरता लिनै पर्छ । अन्यथा दक्षिण एसियाको यो मौलिक उपचार पद्धति किताबका पानामा सीमित हुन बेर लाग्दैन । 


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।

Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।