
जुम्ला । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकेका बिरामीहरूलाई मध्यनजर गर्दै जुम्लाको सिंजा गाउँपालिका-६ मा विशेषज्ञ चिकित्सकको टोली पुगेपछि स्थानीय खुसी भएका छन् ।
सदरमुकाम पुग्न नसकेर लामो समयदेखि रोगपालेर बसेका महिला तथा बालबालिकाले चिकित्सका सामू खुलेर आफ्नो स्वास्थ्य समस्या बताएका छन् । जुम्लाको सिंजा गाउँपालिका-६ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ टोली पहिलोपटक पुगेको छ ।
भौगोलिक रूपमा बिकट र आर्थिक रूपमा विपन्न नागरिकहरू बसोबास भएको यस क्षेत्रमा लामो समयदेखि महिला तथा बालबालिकाहरू रोग पालेर बसेका थिए । सिजनअनुसार पुरूषहरू व्यापारका शिलशिलामा काला-पहाडतिर लागेपछि गाउँमा महिला र बालबालिकाहरू मात्र छन् । चिकित्सक टोली पुगेर उपचार गर्न थालेपछि स्थानीयले राहतको महसुस गरेका छन् ।
चिकित्सक पुगेको गाउँदेखि सदरमुकाम खलंगा आइपुग्न एक दिन लाग्छ । गाइवस्तु हेर्ने मान्छे नहुँदा अधिकांश बिरामी अस्पताल पुग्दैनन् । गाउँमा स्त्रीरोग र बालरोगको समस्या बिकराल नै छ । सामान्य चोटपटक लागेका बिरामीलाई गाउँकै स्वास्थ्य संस्थाले उपचार गर्ने चलन छ । न आर्थिक जोहो गरेर अस्पतालसम्म पुग्ने अवस्था छ न त गाउँमा चिकित्सकीय सेवा नै । यस्तो बेला गाउँमा पुगेको चिकित्सक टोलीले रोगअनुसारको औषधि र परामर्श दिँदा उनीहरू उत्साहित भएका हुन् ।
विशेषज्ञसहितको चिकित्सकको टोलीले पाठ्यघर, स्त्रीरोग, बालरोग, उच्च रक्तचाप, श्वासप्रश्वास, पेट, छालालगायतका सेवा प्रदान गरेको थियो । साथै प्रजनन् स्वास्थ्य, मानिसक स्वास्थ्य र परिवार नियोजन बारेको परामर्श पनि दिइएको थियो । विशेषज्ञ चिकित्सकसहितको टोलीले २ सय ७२ जना बिरामीको उपचार गरेको छ ।
विशेषज्ञ चिकित्सकको टोलीसँग १ सय ५२ जनाले स्त्रीरोग र पाठ्यघरसम्बन्धी उपचार गराए । ६० जना किशोरीले प्रजनन् स्वास्थ्य र मानसिक स्वास्थ्य र परिवार नियोजनसम्बन्धीको परामर्श लिए । रक्तचाप,सुगर परिक्षण ,श्वासप्रश्वास,पेट छाला रोगका ५५ जना बिरामीले उपचार सेवा लिए ।