
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राजनीतिक एकता र समाजवादी रूपान्तरणको सन्देश जनतासमक्ष पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहित १६ वटा वामपन्थी दलहरू मिलेर नवगठित नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी रूपमा सञ्चालन गरिरहेको एकता सन्देश सभा अभियानअन्तर्गत शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सभा आयोजना गरेको हो । त्यस अवसरमा संयोजक दाहालले एकताले धेरैमा सकारात्मक आशा सञ्चार गरेको दाबी गर्नुभयो ।
सहसंयोजक माधवकुमार नेपालले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता उपलब्धिलाई उल्ट्याउन खोज्ने शक्तिहरूविरूद्ध एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो । मधेश प्रदेश लगायत केन्द्रीय नेतृत्वहरूको सहभागितामा आयोजित सभामा नेताहरूले आन्तरिक रोजगारीको अवसर सिर्जना गरी मुलुकको आर्थिक अवस्था सुधार गर्दै स्वदेशमै आय आर्जनको अवसर उपलब्ध गराउन सरकारी संयन्त्रसँग मिलेर काम गर्ने योजना सुनाए ।
नवगठित नेपाली कम्युनिस्ट पार्टी ले मंसिर १२ गते सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरू गरेको प्रदेश स्तरीय एकता सन्देश सभा लुम्बिनीको दाङ देउखुरीमा, गण्डकीको पोखरा कोशी प्रदेशको विराटनगर हुँदै मंसिर २० गते शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेको हो । प्रदेशगत एकता सभा सम्पन्नपछि सबै जिल्ला तथा स्थानीय तहहरूमा एकता सभा आयोजन गर्ने नेकपाको कार्य तालिका छ ।