
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा ६ दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा आर्मीले १० स्वर्ण, १२ रजत र १० कांस्य पदक जित्यो । यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो भयो । पुलिसले ६ स्वर्ण, पाँच रजत र चार काँस्य पदक प्राप्त गर्यो ।
तेस्रो स्थान हात पारेको सशस्त्र प्रहरीको एपीएफ क्लबले चार स्वर्ण, दुई रजत र दुई कांस्य पदक प्राप्त गर्यो । नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित च्याम्पियनसिप पुलिस क्लबका आशिष भण्डारी पुरुषतर्फ र महिलामा आर्मीकी स्वस्तिका तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई समावेश गरिएको थियो । च्याम्पियनसिपमा सिनियर, चिल्ड्रेन र क्याडेट गरी तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।