
काठमाडौं । जेन-जी आन्दोलनमा घाइते भएका २५ सय २३ मध्ये ४ सय ६० जना घाइतेको मात्र वर्गीकरण हुने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गृह मन्त्रालयले वितरण गरेको घाइते परिचय पत्र लिएकाहरूको मात्र वर्गीकरण हुने भएको हो । घाइतेहरूको चोटपटकका आधारमा वर्गीकरण हुने र वर्गीकरणका आधारमा सरकारले थप सेवा सुविधाको निर्णय समेत गर्ने भएकाले यसका लागि परिचय पत्र अनिवार्य हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
भदौ २३ र २४ गते अस्पताल पुगेकाहरूलाई मात्र घाइते मान्ने भएकाले त्यही नामको आधारमा घाइते परिचय पत्र दिने निर्णय सरकारले गरेको थियो। परिचय पत्र नलिएकाहरूलाई परिचय पत्र लिनसमेत स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । परिचय पत्र पाएका ४ सय ६० जनामध्ये अहिलेसम्म काठमाडौंमा १ सय ६९ जना, कास्कीमा १३ जना, ललितपुरमा १ जना, झापामा १७ जना, धनगढिमा १ जना, धनुषामा १, पर्सामा १ र रूपन्देहीमा १ जना गरी २ सय ४ जनाको वर्गीकरण भएर स्वास्थ्य मन्त्रालयमा तथ्याङ्क आइसकेको छ ।
यसबाहेक मन्त्रालयमा आउने अन्य विवरण मन्त्रालयको प्रविधिक कमिटिले फेरि रूजु तथा विश्लेषण गरेर बाँकी प्रक्रियाका लागि गृह मन्त्रालय पठाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।