स्वास्थ्यमा दिगो विकास लक्ष्य पूरा गर्न कठिन, १० वर्षमा १८ वटा सूचकमा मात्र उपलब्धि

६० प्रतिशतमात्र लक्ष्य हासिल हुने सरकारकै स्वीकारोक्ति
मंसिर १६, २०८२ |कृपाल गौतम
स्वास्थ्यमा दिगो विकास लक्ष्य पूरा गर्न कठिन, १० वर्षमा १८ वटा सूचकमा मात्र उपलब्धि

काठमाडौं । सन् २०३० सम्मको दिगो विकास लक्ष्यअनुसार नेपालले स्वास्थ्य क्षेत्रमा ४३ वटा सूचकमा उपलब्धि हासिल गर्नुपर्ने थियो । 

तर, पूर्वाधारमा लगानी नहुँदा र योजना कार्यान्वयनमा सरकार चुक्दा २८ वटा लक्ष्य हासिल गर्न कठिन देखिएको छ । स्वास्थ्य मन्त्रालयकै अधिकारीहरू बाँकी ५ वर्षमा ६० प्रतिशतमात्र उपलब्धि हासिल हुने स्वीकार्छन् । सन् २०१५ मा तयार पारिएको २०१६ देखि २०३० सम्मको दिगो विकास लक्ष्यको मार्ग-चित्रअनुसार नेपालले स्वास्थ्य क्षेत्रमा ४३ वटा सूचकमा लक्ष्य लिएको थियो । तर, यो अवधिमा दक्ष स्वास्थ्यकर्मीबाट हुने सुत्केरीमा वृद्धि, एचआइभी तथा हेपाटाइटिस बी संक्रमण दरमा कमीलगायत जम्मा १५ वटामा मात्र उपलब्धि हासिल भएका छन् । 

अबका ५ वर्षमा बाँकी २८ वटा लक्ष्य प्राप्ति निकै कठिन र चुनौतीपूर्ण देखिएका छन् । विगतको तुलनामा मातृ मृत्युदर केही घटेको भए पनि अझै यो उच्च छ । अहिले प्रति १ लाख जीवित जन्ममा मातृ मृत्युदर १ सय ५१ छ । यसलाई सन् २०३० सम्ममा ७० मा झार्नुपर्ने लक्ष्य लिइएको छ, जुन निकै कठिन छ । 

यसैगरी सडक दुर्घटनाबाट मृत्यु हुनेहरूको दर प्रति १ लाखमा १३ दशमलब शून्य-तीन जनाबाट झारेर ४ दशमलब नौ-६ जनामा झार्नुपर्ने छ । प्रति १ लाखमा ५५ जनामा देखिइरहेको क्षयरोग २० मा झार्नुपर्ने छ । नसर्ने रोग, सुर्तीजन्य पदार्थको सेवन, मातृ मृत्यु, नवजात शिशु मृत्यु, आत्महत्याको दरलगायतको लक्ष्य भेटाउन निकै कठिन देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्यमा अझै ठूलो लगानी आवश्यक छ । यसअनुसार स्वास्थ्य सेवा प्रवाहका लागि ८३ अर्ब, पुर्वाधारका लागि ३१ अर्ब र जनशक्तिका लागि ७१ दशमलब ५३ अर्ब अझै आवश्यक छ । तर अहिले राज्यले स्वास्थ्यमा जति लगानी गरिरहेको छ, त्यसकै प्रतिफल पनि नपाइरहेको स्थिति छ । 

भएकै स्वास्थ्य सरसामग्री तथा उपकरण, जनशक्तिको उचित व्यवस्थापन र खटनपटन पनि हुन सकेको छैन। यसले नतिजा प्राप्तिमा ढिलाइ भइरहेको यथार्थ हो। अर्कोतर्फ, नीतिअनुसार योजना बनाउन चुकेको र उचित हिसाबले स्रोत बाँडफाँट गरी स्वास्थ्यमा देखिएको खाडल पुर्न सरकारले ध्यानै नदिएको जानकार बताउँछन् ।

त्यसो त दिगो विकासको लक्ष्य हासिल गर्ने समयावधि अझै ५ वर्ष बाँकी छ । यसका लागि तीनै तहका सरकारदेखि गैरसरकारी तथा निजी क्षेत्रसमेतले प्रयास गर्नु जरुरी रहेको विज्ञहरुको भनाइ छ । बाँकी २८ वटा सूचकमा उपलब्धि हासिल गर्ने प्रयास जारी रहँदा हालसम्मका उपलब्धिलाई दिगो बनाउने चुनौती पनि उत्तिकै छ । यसका लागि स्वास्थ्यमा लगानी बढाउँदै भएका स्रोत साधनको समेत उचित प्रयोग गर्नु आवश्यक छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।