एनपीएल : चितवनमाथि पोखराकाे जित

मंसिर २०, २०८२ |खेल ब्युरो
एनपीएल : चितवनमाथि पोखराकाे जित

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सले सान्त्वना जित हात पारेको छ। 

टीयू क्रिकेट रंगशालामा शनिबार साँझको खेलमा पोखराले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेर सिजनको समाप्ति गरेको हो। यो नतिजासँगै पोखरा पाँचौ र चितवन छैटौं स्थानमा रहेर दोस्रो संस्करणबाट विदा लिएका छन्। शनिबार पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २० रन बनाएको थियो। 

चितवनको शीर्ष क्रमका ब्याटर सस्तैमा समेटिएपछि उसले प्रतिस्पर्धात्मक स्कोर नै खडा गर्न सकेन । डेविड मलान पाँचका साथै अर्जुन साउद र रबि वोपारा समान एक-एक रनमा आउट भए। दुवै ओपनरलाई धनन्जय लक्षणले आउट गराएका हुन्। चौथो नम्बरका सेफ जैबले १७ रन जोड्न सके। 

देव खनालले ४१ बलमा एक-एक चौका र छक्काको मद्दतमा सर्वाधिक ३५ रन जोडेका थिए। कप्तान कुशल मल्ल २३ रनमा आउट भए। अन्तिममा अल्पेस रामजानीले २२ बलमा ३३ रन जोडेपछि मात्रै चितवनले सय रन पार गर्न सकेको थियो। खेलमा धनन्जयले उत्कृष्ट बलिङ गरेर तीन विकेट हात पारेका थिए।

जवाफमा पोखराका खेलाडीले सुरूआतबाटै सम्हालिएर खेले। ठूलो लक्ष्य नभएका कारण ओपनर अर्जुन कुमाल र एडम रसिङ्टनले हतारिएर खेलेनन्। यससँगै पोखराले दुई विकेटमात्रै गुमाएर १९ ओभर चार बलमा लक्ष्य पुरा गर्यो। रसिङ्टनले ४८ बलमा ६५ रनको उत्कृष्ट इनिङ्स खेले। 

उनले खेलमा नौ बाउन्ड्री प्रहार गरेका थिए। अर्को एन्डमा रहेका अर्जुन कुमाल ४३ रनमा अविजित रहे। लिगमा पहिलो पटक अवसर पाएका अर्जुनले ५३ बलमा ४३ रन जोड्न सके। उनले तीन बाउन्ड्री प्रहार गरे। कुशल भुर्तेल भने १० रनमा नै आउट भए। चितवनका जैब र रिजन ढकालले एक-एक विकेट लिएका थिए।